‘बङ्गबन्धुका जेल डायरी’ नेपालीमा

 कात्तिक २३, २०७७ आइतबार १९:१३:१ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रज्ञा–प्रतिष्ठानबाट बङ्गलादेशका पिता शेख मुजिबुर रहमानको जेल संस्मरणमा आधारित ‘बङ्गबन्धुका जेल डायरी’ प्रकाशन भएको छ । बङ्गलादेशमा ‘बङ्गबन्धु’ को उपाधिले सम्मानित रहमानले जेल बस्दा लेखेको बङ्गाली भाषामा लेखिएका अनुभव र अनुभूतिलाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रहमानले बङ्गालादेश निर्माणका क्रममा भोगेका भोगाइ र अनुभूत गरेका अनुभवहरू दक्षिण एसियाका उदीयमान नेताहरूका लागि प्रेरक रहेकाले उहाँद्वारा लिखित तथा बङ्गाल एकेडेमीद्वारा प्रकाशित कृति अनुवाद गरिएको बताउनुभयो ।  

उप्रेतीले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सको आग्रहमा पुस्तकको अनुवाद तथा प्रकाशन गरिएको जनाउँदै यो नेपाल–बङ्गलादेशबीच सांस्कृतिक तथा साहित्यिक आदान–प्रदान गर्ने पहलको निरन्तरता भएको बताउनुभयो ।     

मूल भाषा बङ्गालीबाट डाक्टर फकरुल आलमले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको ३६२ पृष्ठको पुस्तकलाई महेश पौड्यालले नेपालीमा अनुवाद गर्नुभएको हो । यसको सम्पादन कुलपति उप्रेतीले गर्नुभएको छ । यसअघि प्रतिष्ठानबाट रहमानद्वारा लिखित पुस्तक ‘ती अधुरा स्मरणहरू’ प्रकाशित भइसकेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया