जोखिम कम भएका ठाउँमा विद्यालय सञ्चालन, मापदण्ड पालना गर्नुपर्ने

 मंसिर ७, २०७७ आइतबार ८:१२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले विद्यालय सञ्चालन गर्ने जिम्मा पालिकालाई दिएसँगै विभिन्न जिल्लाका विद्यालय खुल्न थालेका छन् ।

कोरोनाको जोखिम नभएका र कम भएका ठाउँमा प्रदेश र पालिकाको निर्णयअनुसार विद्यालय खुल्न थालेका हुन् । तर काठमाण्डौ उपत्यकासहित कोरोनाको जोखिम उच्च रहेका जिल्लामा भने तत्काल विद्यालय नखुल्ने भएको छ। विद्यालय सञ्चालन गर्दा कोरोनाको जोखिमलाई ख्याल गर्न सरकार र सरोकारवालाले आग्रह गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचामा सङ्क्रमणको जोखिम नभएको वा कम हुँदै गएको पालिकाले विद्यालयहरूसँगको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख छ । विद्यालय खोल्दा पर्याप्त मात्रामा पानी, हात धुने ठाउँ, साबुन र अरु सरसफाइका सामग्रीको व्यवस्था गर्नुपर्ने हुन्छ ।

कार्यढाँचामा सरसफाइका सामग्रीको व्यवस्था गरी पर्याप्त प्रकाश र हावा आवतजावत गर्ने कक्षाकोठामा कक्षा सञ्चालन गर्न भनिएको छ । शिक्षक, विद्यालयका कर्मचारी, विद्यार्थी सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, लगायतका व्यवस्था कार्य ढाँचामा उल्लेख छ ।

यस्तै सबै विद्यार्थीको शरीरको तापक्रम नाप्ने, कुनै विद्यार्थी, शिक्षक वा कर्मचारी बिरामी परेमा विद्यालय आउन नहुनेलगायतका व्यवस्था कार्यढाँचामा गरिएको छ । गएको चैत पहिलो हप्तादेखि बन्द रहेका विद्यालयमा असारदेखि भर्चुअल कक्षाहरू औपचारिक रूपमा सञ्चालन भइरहेका छन् । हेर्नुहोस् कार्यढाँचा :

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया