ज्यान जोखिममा परेका १ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार

 मंसिर ११, २०७७ बिहिबार ८:३९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिलेसम्म ज्यान जोखिममा परेका १ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।

मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यले सरकारले सुरु गरेको कार्यक्रममार्फत अहिलेसम्म १ सय ३६ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार भएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई उद्धार सम्बन्धी समन्वय इकाई प्रमुख अञ्जु ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २६, २०७६/२०७७ मा ८७ र चालु आर्थिक वर्षमा २३ जना गरी अहिलेसम्म १ सय ३६ जनाको हवाई उद्धार भइसकेको छ ।

सेवा शुरु हुनुअघि वर्षमा बढीमा ३३ गर्भवती र सुत्केरीले ज्यान गुमाउनु परेकामा अहिले त्यो सङ्ख्या घटेर १२ जनामा झरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको लागि हवाई उद्धार कार्यविधि २०७५ असोज ३० गते बनेपछि २०७५ पुस ६ गते हुम्ला चङ्खेली गाउँपालिका बस्ने २२ वर्षीया नीरा शाहीको उद्धार गरी यो कार्यक्रम कार्यान्वयनमा आएको थियो ।

हिमाली र पहाडी भेगका १९ जिल्लामा यो कार्यक्रम पूर्ण र २९ पहाडी जिल्लामा आंशिक रुपमा लागू गरिएको छ । सुविधासम्पन्न अस्पतालमा उपचार गराउन नसक्दा ज्यान जान सक्ने सम्भावना भएमा सम्बन्धित महिलाको नागरिकताको प्रतिलिपि र स्थानीय स्वास्थ्य संस्थाको सिफारिशपत्रका आधारमा सम्बद्ध प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको छ । लामो प्रशव व्यथा लागेर शिशु जन्माउन कठिनाइ भएमा, गर्भमा नै शिशुको ज्यान गएमा वा गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएमा र सुत्केरीपछि अत्याधिक रक्तश्राव भएमा वा रक्तअल्पता भएका गर्भवती कार्यक्रममा समेटिन्छन् ।

उद्धार गरिएको महिलाको पोषण स्याहार तथा यातायात सहयोगका लागि सरकारले २० हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया