नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु

 मंसिर ११, २०७७ बिहिबार १४:५२:३७ | रासस
unn.prixa.net

काठमाण्डाै – झन्डै एक वर्षको अन्तरालपछि काठमाण्डाैमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले गर्नुभएको छ । 

बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचार, विमर्श हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव पौड्याल नेतृत्वको प्रमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत तथा विदेश सचिव श्रृङ्गला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर) विभागका सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत नेपालमा रहेकाे भारतीय दूतावासका कर्मचारी रहनुभएको छ । 

त्यसअघि परराष्ट्रसचिवद्वयबीच सहसचिवद्वय हमाल र बाग्ची तथा राजदूत क्वात्राको उपस्थितिमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सचिव पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि सचिव श्रृङ्गला बिहीबार नै काठमाण्डौ आउनुभएको हो । उहाँलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौड्याल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको थियो । 

आफ्नो भ्रमणको उद्देश्यबारे जानकारी दिँदै विमानस्थलमा सचिव श्रृङ्गलाले नेपाली भाषामा भन्नुभयो, 'विदेश सचिवका रूपमा काठमाण्डौ आउँदा मलाई अत्यन्त खुसी लागेको छ, पहिले पनि म काठमाण्डौ आएको छु तर विदेश सचिवका रूपमा मेरो यो पहिलो भ्रमण हो । भारत र नेपाल निकटतम मित्र हुन्, हाम्रो मैत्रीपूर्ण सम्बन्धलाई अझ अघि बढाउन म नेपाल आएको हुँ ।'

उहाँले आज( बिहीबार) र शुक्रबार (भाेलि) आफू उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने जानकारी दिँदै शुक्रबार गोरखा पुगेर भारत सरकारले त्यहाँ पुनर्निर्माण गरेका तीन विद्यालय भवन उद्घाटन गर्ने बताउनुभयो ।

गोरखामा ५० हजार घर बनाउने भारतीय प्रधानमन्त्री मोदीको घोषणाअनुरूप ४० हजार घर बनिसकेको जानकारी दिँदै विदेश सचिव श्रृङ्गलाले मनाङमा निर्माण गरिएको बौद्ध गुम्बाको पनि शुक्रबार नै उद्घाटन हुने बताउनुभयो । यद्यपि उहाँले त्याे गुम्बा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उद्घाटन हुनेबारेमा भने केही खुलाउनु भएन । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया