सरकारले आफ्नाे क्षमताअनुसार सहयाेग गरिरहेकाे छ : प्रधानमन्त्री

 मंसिर ११, २०७७ बिहिबार १५:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रसय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रसय दिएको र उद्योगी व्यवसायीलाई विभाजित गर्‍याे भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताउनुभएको हो ।

त्यस्ता अभिव्यक्ति सुनेर द्विविधामा नपर्नसमेत निजी क्षेत्रलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी व्यवसायीहरू राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभयो । त्यसैले सरकारको नजरमा सबै उद्योगी व्यवसायी समान भएको उहाँको भनाइ छ । राज्यले सबैलाई कानुन सम्मत ढङ्गले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रष्ट पार्नुभयो । तर राज्यले उद्योगी व्यवसायीहरूसँग सधै कारोबारमा पारदर्शिता कायम गर्न मात्रै आग्रह गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

सरकार राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पुँजीपतिहरूलाई सबल बनाउने पक्षमा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । राष्ट्रिय पुँजी, उद्यमी र पुँजीपतिहरूलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उहाँले बताउनुभयो । देशमा पुँजी निर्माण गरी बाह्य देशमा लगानी नगर्नसमेत उहाँले आग्रह गर्नुभयो । देशमा लगानीका अवसर सिद्धिएको नभइ झन् बढेकाले देशभित्रै लगानी बढाउन सुझाव दिनुभयो ।

अहिले पनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्न पनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालका सबै उद्योग व्यवसाय, सेवा क्षेत्र, कृषि, पर्यटन सबैलाई साथ सहयोग लिएर सहकार्य गर्न सरकार तयार भएको पनि प्रधानमन्त्री आलीले स्पष्ट पार्नुभयो । 

कोभिडका कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाइ परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । कोरोनाको असरलाई राहत पुर्‍याउन अन्य देशका सरकारले ठूलो रकम विनियोजन गरेको तर हामीले पाएनौँ भन्ने लाग्न सक्ने स्वाभाविक भएको उहाँले बताउनुभयो ।

सरकार मनको गरिब नभइ आफ्नो क्षमता र गक्षअनुसार उद्यमी व्यवसायीहरूलाई सघाएको बताउनुभयो । उहाँले गक्षभन्दा एक कदम अगाडि बढेर सरकारले सहयोग गरे पनि बचत नभएका कारण त्यो थोरै हुने बताउनुभयो । तर पनि सबै पक्ष मिलेर एकसाथ नहिँडे अर्थतन्त्रलाई जोगाउन कठिन हुने उहाँको भनाइ छ ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका छन् । बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदा समेत उद्योग व्यवसायलाई निरन्तरता दिन कठिनाइ भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताउनुभयो । उद्योग व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाले बताउनुभयो ।    

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया