ग्यास सिलिन्डर प्रयोगमा कसरी सावधानी अपनाउने ?

 माघ २६, २०८१ शनिबार ९:८:४३ | मनोज ठाकुर
unn.prixa.net

अहिले घरघरमा ग्यास चुलोको प्रयोग सामान्य भइसकेको छ । तर यसको सुरक्षित प्रयोगको विषयमा पर्‍प्त जानकारी र सचेतनाको अभावले ग्यास चुहिएर आगलागी हुने र ग्यास सिलिन्डर पड्किने घटना दोहोरिनने गरेको छ । यस्ता घटनाबाट बच्न सिलिण्डर किन्दादेखि प्रयोग गर्ने बेलासम्म सावधानी अपनाउनुपर्छ ।

ग्यास सिलिन्डरको किन्दा सही छनोट र प्रयोगका बारेमा सजग रहनु पर्छ । सधैँ आधिकारिक विक्रेता वा आधिकारिक डिपोबाट मात्र किन्नु पर्छ ।

सिलिन्डर किन्ने बेलामा सबैभन्दा पहिलो कुरा यसको गुणस्तर र बनेको मिति जाँच गर्नु पर्छ । सिलिन्डरको माथिल्लो भागमा सेतो रङ्गमा मिति लेखिएको हुन्छ, जुन अङ्ग्रेजी अक्षरमा हुन्छ ।

ती अक्षरहरूबाट महिनाको जानकारी थाहा पाउन सकिन्छ । ‘ए’ ले जनवरी, फेब्रुअरी र मार्च, ‘बी’ ले अप्रिल, मे र जून, ‘सी’ ले जुलाई, अगस्ट र सेप्टेम्बर तथा ‘डी’ ले अक्टुबर, नोभेम्बर र डिसेम्बर जनाउँछ ।

अङ्ग्रेजी अक्षर पछाडि एउटा थोप्लो र दुईवटा नम्बर लेखिएको हुन्छ, जसले वर्ष जनाउँछ । उदाहरणका लागि यदि थोप्लो २५ लेखिएको छ भने यो २०२५ वर्षलाई जनाउँछ ।

यसरी सिलिन्डर किन्दा यसको म्याद समाप्त भएको छ कि छैन भनेर ध्यान दिनु अत्यन्त महत्त्वपूर्ण छ । अहिले जुन महिना चलेको छ, त्यही महिनाको भन्दा अर्को महिनाको अक्षर भएको सिलिन्डर किन्नु पर्छ ।

मिति स्पष्ट नदेखिने सिलिन्डर किन्नु सुरक्षित होइन र लामो समयसम्म राखिएका सिलिन्डरहरू खतरनाक हुन सक्छन् । यस्ता सिलिन्डरको म्याद सकिएको हुनसक्छ, जसले जोखिम उत्पन्न गर्न सक्छ । त्यसैले सिलिन्डर किन्ने बेला यसको मिति र गुणस्तरको जाँच गर्नु पर्छ र सकेसम्म नयाँ म्याद भएका सिलिन्डर मात्र छनोट गर्नुपर्छ ।

ग्यास सिलिन्डरको म्याद १०–१५ वर्षसम्म हुन्छ । त्यसपछि सिलिन्डरलाई पुनः परीक्षण गर्न आवश्यक हुन्छ । परीक्षण नगरेको पुरानो सिलिन्डर प्रयोग गर्दा जोखिम बढ्न सक्छ ।

ग्यास सिलिन्डरको स्थिती पनि महत्त्वपूर्ण हुन्छ । यदि सिलिन्डर कुच्चिएको, बाङ्गिएको वा कुनै प्रकारको क्षति भएको देखिन्छ भने त्यसलाई किन्नु हुँदैन । यस्तो सिलिन्डर प्रयोग गर्दा दुर्घटनाको जोखिम उच्च हुन्छ । साथै ग्यास सिलिन्डरको सेफ्टी भल्भ पनि राम्रोसँग जाँच गर्नु पर्छ ।

ग्यास सिलिन्डरलाई गाडीमा राखेर लैजाँदा यसलाई ध्यानपूर्वक सुरक्षित स्थानमा राख्नुपर्छ । ग्यास सिलिन्डरलाई पल्टाएर गुडाउनु हुँदैन । यसरी ग्यास सिलिन्डरको भल्भ र अन्य भागमा असर पर्न सक्छ, जसले दुर्घटनाको सम्भावना बढाउँछ ।

ग्यास सिलिन्डर कस्तो ठाउँमा राख्ने ?

ग्यास सिलिन्डर सधैँ खुल्ला र हावा आउजाउ हुने तथा सुक्खा र समतल ठाउँमा राख्नु पर्छ । यस ठाउँमा आगोको कुनै पनि स्रोत जस्तै चुलो, बिजुलीका तारहरू लगायतका वस्तुहरू नजिक हुनु हुँदैन ।

ग्यास सिलिन्डरलाई प्रत्यक्ष घामबाट जोगाउनुपर्छ र उच्च तापक्रम भएका ठाउँमा राख्नु हुँदैन । सिलिन्डरलाई पानी पर्ने ठाउँमा पनि राख्नु हुँदैन, किनभने पानीले यसको संरचनामा असर पुर्‍याउन सक्छ र चुहावटको सम्भावना बढ्न सक्छ ।

ग्यास सिलिन्डरलाई बन्द कोठामा राख्नु हुँदैन किनभने राम्रो हावा आवतजावत नहुँदा ग्यास चुहिएमा जमिनमा जम्मा हुन सक्छ । जसले आगलागी वा विषाक्त असर निम्त्याउने सम्भावना रहन्छ । यदि भान्साकोठामा राख्नुपर्ने भएमा यसलाई हावा चल्ने ठाउँमा राख्नुपर्छ र कोठामा निकासको उचित व्यवस्था हुनुपर्छ । 

ग्यास सिलिन्डर प्रयोगमा सावधानी

ग्यास चुलो बाल्ने बेला सबैभन्दा पहिला ग्यास सिलिन्डर र रेगुलेटर सही तरिकाले जडान भएको हुनुपर्छ । ग्यास खोल्नुअघि ग्यासको गन्ध आएको भए चुहावट भएको छ भन्ने बुझ्नु पर्छ ।

ग्यास प्रयोग गरिसकेपछि सबैभन्दा पहिला चुलो बन्द गर्नुपर्छ र त्यसपछि ग्यास सिलिन्डरको रेगुलेटर पनि राम्रोसँग बन्द गर्नुपर्छ । यसले ग्यास चुहावटको जोखिम कम हुन्छ ।

ग्यास प्रयोग गरेपछि सिलिन्डर नजिक आगो वा ताप दिने उपकरण राख्न हुँदैन । यदि ग्यासको गन्ध आएमा तुरुन्तै झ्यालढोका खोल्नुपर्छ । त्यस्तो बेला बिजुलीका स्वीचहरू चलाउन हुँदैन । सुरक्षित ठाउँमा गएर आपत्कालीन सेवा वा ग्यास आपूर्तिकर्तालाई जानकारी गराउनुपर्छ ।

ग्यास चुलोको पाइपलाई सामान्यतया दुईदेखि तीन वर्षमा फेर्नु पर्छ, चाहे त्यो रबर पाइप होस् या अन्य प्रकारको पाइप । समयसँगै पाइपको गुणस्तर घट्न सक्छ, जसका कारण पाइपमा चिप्लो पदार्थ जम्ने, फुट्ने, वा लिक हुने जोखिम बढ्न सक्छ ।

यदि पाइपमा ग्यासको गन्ध, चिरा, ढिलापन वा कुनै प्रकारको समस्या देखियो भने तुरुन्तै पाइप परिवर्तन गर्नु पर्छ । ग्यासको पाइप र रेगुलेटर गुणस्तर चिन्ह हेर्नुपर्छ ।

ग्यास पाइपको जाँच गर्दा ध्यान दिनुपर्ने कुरा भनेको पाइपको जडान सही तरिकाले गरिएको छ कि छैन र यसले कुनै प्रकारको चुहावट नगर्ने हो भनेर सुनिश्चित गर्नु हो । पाइपको गुणस्तर पनि अत्यन्त महत्त्वपूर्ण छ, त्यसैले पाइप फेर्दा प्रमाणित र उच्च गुणस्तरको पाइप प्रयोग गर्नु पर्छ ।

ग्यास चुहावट भएमा के गर्ने ?

ग्यासको गन्ध आयो भने चुहावट भयो भन्ने थाहा पाउनुपर्छ । ग्यास सिलिन्डर वा पाइपबाट हल्का छिसछिस आवाज आउँछ भने पनि चुहावट भएको हुन सक्छ ।

सिलिन्डरको रेगुलेटर र पाइपको जडान भागमा साबुनपानी लगाएर हेर्दा यदि फिँज आउँछ भने यसले ग्यास लिकेज भएको पुष्टि गर्छ ।

ग्यासको गन्ध धेरै तीव्र छ भने सुरक्षित ठाउँमा जानुपर्छ र नजिकको ग्यास सेवा प्रदायकलाई तत्काल खबर गर्नुपर्छ ।

ग्यास सिलिन्डरको रेगुलेटर तुरुन्त बन्द गर्नुपर्छ र यदि सम्भव हुन्छ भने सिलिन्डरलाई खुला ठाउँमा सार्नुपर्छ । यसले ग्यासको जम्मा हुनबाट बचाउँछ र दुर्घटना कम गर्न मद्दत गर्छ ।

यस्तो बेलामा कोठाका ढोका र झ्यालहरू तुरुन्त खोल्नुपर्छ । बिजुलीको स्वीच अन वा अफ गर्नु हुँदैन । किनकि स्वीच अन अथवा अफ गर्दा करेन्ट प्रवाह हुनसक्छ र यसले ग्यासको सम्पर्कमा आएर आगलागी निम्त्याउन सक्छ ।
आगोको स्रोत—जस्तै सलाई, लाइटर वा विद्युतीय उपकरणहरू प्रयोग गर्नु हुँदैन । तुरुन्तै नजिकको दमकल सेवा वा सुरक्षाकर्मीलाई जानकारी दिनुपर्छ र उचित सहयोग लिनुपर्छ ।

ग्यास चुहावट भएर आगलागी हुँदा आगो निभाउने उपकरण छ भने त्यसको प्रयोग गरेर आगो निभाउन प्रयास गर्नुपर्छ । यदि आगो ठूलो हुँदै गयो भने पानी प्रयोग गर्नु हुँदैन, किनकी ग्यासको आगोमा पानी थप्दा आगो अझ फैलिन सक्छ । तुरुन्तै आपतकालीन सेवामा सम्पर्क गर्नुपर्छ ।

ग्यास सिलिन्ण्डरबाट हुने जोखिम कम गर्नको लागि खाना पकाएपछि ग्यास चुलो र सिलिन्डरको रेगुलेटर राम्ररी बन्द गर्नुपर्छ ।

यसले ग्यास चुहावटको जोखिमलाई कम गर्छ । साथै ग्यास सिलिन्डरको नजिक बिजुलीका तार, प्लग वा स्विच राख्नु  हुँदैन, किनकि सानो करेन्टसमेत आगलागी वा विस्फोटको कारण बन्न सक्छ ।

ग्यास प्रयोग गर्ने ठाउँमा चुरोट पिउनु हुँदैन । ग्यास सिलिन्डर भर्ने वा फेर्ने बेलामा प्राविधिक मापदण्डहरूको पालना गर्नु अत्यावश्यक छ । बालबालिकालाई ग्यास चुलो वा सिलिन्डर चलाउन दिनु हुँदैन ।

ग्यास सिलिन्डरको सुरक्षा सुनिश्चित गर्नका लागि रेगुलेटर र पाइपको अवस्था पनि नियमित रूपमा जाँच गर्नु पर्छ । यदि पाइपमा कुनै प्रकारको गन्ध, चिरा वा अन्य समस्या देखिएमा तुरुन्तै पाइप फेर्नुपर्छ ।

यसरी, ग्यास सिलिन्डर प्रयोग गर्दा उपयुक्त सावधानीहरू अपनाएमा दुर्घटनाको जोखिमलाई कम गर्न सकिन्छ ।

(नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरसँगको गरिएको कुराकानीमा आधारित)

 

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनोज ठाकुर

ठाकुर नेपाल आयल निगमका प्रवक्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया