भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला गोरखा र मनाङ जाँदै, आजै स्वदेश फर्कने

 मंसिर १२, २०७७ शुक्रबार ८:६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज गोरखा र मनाङ जाँदै हुनुहुन्छ । 

उहाँले गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको अवलोकन गर्ने कार्यक्रम छ । साथै तीन वटा विद्यालयको उद्घाटन पनि गर्नुहुनेछ ।

मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ । हिजो बिहान नेपाल आएका भारतीय विदेश सचिव श्रृङ्गला दिनभर भेटघाटमा व्यस्त रहनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ ।

भारतीय विदेश सचिव श्रृङ्गलासँग शीतल निवासमा भएको भेटमा उहाँले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लैजान आग्रह गर्नुभएको हो ।

राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गर्नुभएको थियो । उहाँ आज दिउँसो एक बजे स्वदेश फर्किने कार्यक्रम छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया