आठ वर्षीय यशराजको आफ्नै वास्तविक कथा, 'हे आमा तिमी......'

 मंसिर १३, २०७७ शनिबार १६:२१:५१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – यशराज कर्ण उमेरले आठ वर्षका भए । पाँच वर्षदेखि नै गीत गाउन थालेका यशराज नाच्नमा पनि पोख्त छन् ।

कुनै पनि बालकका लागि आमा सबथोक हुन्छन् । तर यशराज भने एक वर्षदेखि आमाको अभाव भोगिरहेका छन् । आमाको माया पाउनबाट बञ्चित छन् । 

बुवा त्रिवेन्द्र कर्णसँग उनी आफ्नो बालापन बिताइरहेका छन् । बुवाले जति माया गरे पनि आमाबाट पाइने माया बेग्लै हुन्छ । यशराजमा त्यही मायाको भोक छ । आमाको अभावमा उनले त्यही माया नपाउँदाको पीडा भोगेका छन् । सहानुभूति पाएका छन् । उनको उमेरले आमा खोजिरहेको छ । तर उनकी आमा अब फर्किएर आउने कुनै आधार छैन । यो कुरा यशराजलाई पनि थाहा छैन । त्यसैले त उनी मनको कन्दराबाट आमालाई पुकार्छन् :

हे आमा तिमी स्वर्गै सरि छौ 

हे आमा तिमी धर्ती मेरै हौ ।।

​आठ वर्षका यशराज धनगढीको वेष्टर्न क्रिष्टल एकेडेमीमा कक्षा २ मा पढ्छन् । विभिन्न सार्वजनिक कार्यक्रम र सुदूरपश्चिम महोत्सवमा हजारौंको सामु गीत गाईसकेका उनी गएको वर्ष धनगढीमा आयोजना गरिएको जुनियर लिटिल प्रिन्सका विजेता पनि हुन् । 

अहिले आएर उनले आफ्नै गीत गाएका छन् । आफ्नै पिडा सुनाएका छन् । आफ्नै वेदना पोखेका छन् । आफ्नै सुस्केरा गुनगुनाएका छन् गीतमा । उनले ‘हे आमा तिमी’ बोलको गीत रेकर्ड गराएका छन् । मंसिर महिनाभित्र गीत र म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी गरिएको छ । यशराजले रेकर्ड गराएको पहिलो गीत उनकै वास्तविक जीवनमा आधारित छ । आफ्नै बाल्य जीवनको कथा बोलेका छन् यो गीतमा यशराजले ।

यसराजका बुवा त्रिवेन्द्रको सपना गायक बन्ने थियो । तर उनी डान्सर बने । त्यही आफ्नो गायक बन्ने सपनालाई छोरा मार्फत साकार गर्दै छन् त्रिवेन्द्र । त्यो पनि यशराजकी आमाले छोडेर गएपछि आफैसँग राखेर हुर्काएको छोराको बाल मनोविज्ञानलाई बुझेर त्यही सेरोफेरोमा छोराका लागि गीत बनाउन अहिलेका चर्चित संगीतकार भीम विसीलाई भने ।

त्रिवेन्द्रको ईच्छालाई भीमले नकार्न सकेनन् । अनि भीमले उनका छोरा यशराजका लागि तयार पारे हे आमा तिमी बोलको गीत । त्यसमा संगीत भरे । अनि एरेन्ज गर्न लगाए । म्युजिक ट्र्याक तयार भयो । यसराजलाई अभ्यास गराइयो । त्यसपछि गीतलाई संगीतकार तथा रचनाकार भीम विसीकै उपस्थितिमा धनगढीमै रेकर्ड गरियो । 

हजार बर्ष बाँच तिमी 
हजार खुशी साच तिमी ।
मनले चिताएका सबै कुरा 
पलभरमै खुशी बाँड तिमी ।।
हे आमा तिमी स्वर्गै सरि छौ 
हे आमा तिमी धर्ती मेरै हौ ।।

दशैं र तिहार मनाउनका लागि संगीतकार तथा कम्पोजर भीम धनगढी आएका थिए । उनले यो दशै तिहारको समयलाई पनि गीत संगीतकै काममा लगाए । तीन दशकभन्दा बढी समय देउडा संगीतमा लागेका बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीका पुराना चर्चित गीतलाई पुनः रेकर्डिङको काम गरे भने यसै बीचमा यशराजको गीतलाई धनगढीको अपटेक स्टुडियोमा रेकर्ड गराए । यशराजको गायकीबाट उत्साहित छन भीम पनि । उनमा राम्रो सम्भावना र क्षमता देखेका छन् । 

‘यो गीत धेरै समय अगाडि नै ल्याउने तयारी भएको थियो । तर कोरोनाका कारण ढिला भयो ।’, उनले भने, ‘अब भने एक महिनाभित्र गीत र गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने गरी काम अघि बढाईएको छ ।’ 
त्रिवेन्द्र कर्ण दुई दशकदेखि धनगढीमा डान्सर र डान्स डाईरेक्टरको रुपमा काम गरिरहेका छन् ।

५० भन्दा बढी म्युजिक भिडियो बनाएका छन् । उनले स्थानीय चलचित्रमा अभिनयसँगै गीत पनि गाएका छन् । सयौं स्टेज कार्यक्रममा आफ्नो क्षमता पनि देखाएका छन् । त्यही क्रममा उनको वैवाहिक जीवन एक दशकभन्दा धेरै टिक्क सकेन् । त्यही मायाको निशानी हुन् यशराज । तर यशराजकी आमा र बुवा त्रिबेन्द्रले वैचारिक भिन्नताका कारण सँगै बस्न नसक्ने निष्कर्षमा पुग्दै सम्बन्ध बिच्छेद गरे । यसराज भने बुवासँगै बसे । यो बसाईको भोगाईको यथार्थ नै उनले गाएको हे आमा तिमीलाई बोलको गीतमा झल्काइएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया