सरकारले संसद् बन्द गरी आफ्नाे सुरक्षा कवचकाे रूपमा प्रयाेग गरिरहेकाे छ : प्रकाशशरण महत

 मंसिर १५, २०७७ सोमबार १७:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सत्ता सङ्घर्षलाई व्यवस्थापन गर्न सत्तारुढ दलले लामो समयसम्म संसद् बन्द राखेको आरोप लगाउनुभएको छ ।

महामारीको समयमा पनि संसद् बन्द गरेर सत्तारुढ दलले आफ्नो पार्टीभित्रको सत्ता सङ्घर्षको खेललाई व्यवस्थित गर्न ध्यान दिएको आरोप उहाँले लगाउनुभयो । नेपाल सांस्कृतिक सङ्घका पदाधिकारीहरूसँको अन्तर्क्रियामा महतले पाँच महिना लामो लकडाउन र निषेधाज्ञा खुले पनि आर्थिक र सामाजिक जीवन आफ्नो लयमा फर्किन नसकेको बताउनुभयो ।

उहाँले सत्तारुढ दलले राज्यका संयन्त्रलाई प्रभावमा पारेर नागरिकलाई झुक्याइरहेको समेत बताउनुभयो । प्रतिपक्षी दल कांग्रेसले कोरोनाविरुद्ध सचेतना अभियान, प्रत्यक्ष कोभिड प्रभावितहरूकाे आवाज सरकारसम्म पुर्‍याउने विषयलाई मुख्य प्राथमिकताका साथ उठाए पनि सरकारले आफ्नो कुरा सहज रूपमा नसुनेको बताउनुभयो । सङ्क्रमणको जोखिमका कारण बाहिर निस्किन सक्ने अवस्था नभएको फाइदा उठाउँदै सरकारले संसद् बन्द गरी आफ्नो सुरक्षा कवचका रूपमा प्रयोग गरिरहेको आरोपसमेत लगाउनुभयो ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजकसमेत रहनुभएका महतसँग सांस्कृतिक सङ्घका पदाधिकारीहरूले निश्चित मापदण्ड बनाएर चलचित्रसँग सम्बन्धित सम्पूर्ण विधालाई खुला गर्न पहल गर्न आग्रह गरेका छन् ।   

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया