नेकपाको विवाद छिटो छिनोफानो हुने सम्भावना कम

 मंसिर १८, २०७७ बिहिबार ८:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ नेकपाभित्रको विवाद तत्काल समाधान हुने संकेत नदेखिएपछि दुवै पक्ष आन्तरिक रणनीतिमा जुटेका छन् ।

बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपछि अर्को बैठक शनिबारको लागि बोलाइएको छ । शनिबारको बैठकमा पनि ओली उपस्थित हुने या नहुने निश्चित भइसकेको छैन । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन फिर्ता गर्नुपर्ने अडान राख्नुभएको छ । तर प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिने बताउँदै आउनुभएको छ । 

दुवै अध्यक्ष आ-आफ्नो अडानबाट पछि नहटेकाले शनिबारको सचिवालय बैठकअघि सहमति हुने सम्भावना कम छ । तर सहमति खोज्नकै लागि बिहीबार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । स्थायी कमिटीमा जानुअघि निर्णायक बैठकमा ओलीलाई पनि सहभागी गराउने प्रयासस्वरूप धैर्य गरिएको प्रचण्ड-नेपाल समूहका नेताहरूको भनाइ छ ।

बुधबारको सचिवालय बैठकले २० गते सचिवालय र २१ गते स्थायी कमिटी बैठक गर्ने निर्णय गरेको छ । यसअघि मंसिर ३ को सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

सचिवालय बैठकमा दुवै अध्यक्षले एकअर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओली पक्षले प्रचण्डको प्रस्ताव फिर्ता गर्नुपर्ने अडान लिएको छ । तर प्रचण्ड र माधव नेपाल समूहले भने दुवै प्रस्ताव बैठकबाटै टुङ्ग्याउनुपर्ने बताउँदै आएको छ ।

यसअघि मंसिर ३ गतेको सचिवालय बैठकले सहमतिको लागि भन्दै १३ गतेसम्म बैठक स्थगित गरेको थियो । तर त्यसबीचमा अध्यक्ष ओलीको प्रस्ताव तयार गर्न मात्रै समय खर्च भयो, सहमतिका लागि अरु प्रयास भएन । १३ गतेको बैठकमा ओलीको प्रस्ताव मात्रै पेस भयो ।

त्यसपछि मंगलबारको बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमा छलफल सुरु भएको नेताहरुले बताए । तर त्यो बैठकमा ओलीले अनौपचारिक छलफल गरेर सहमति गरेपछि मात्रै औपचारिक बैठक बस्न प्रस्ताव गर्नुभएको थियो । जुन प्रस्तावलाई प्रचण्ड-नेपाल पक्षले अस्वीकार गर्यो र बुधबार ओलीको उपस्थितिबिना नै बैठक बस्यो ।

प्रचण्ड-नेपाल समूह दुवै प्रस्ताव सचिवालय हुँदै स्थायी र केन्द्रीय कमिटीमा लगेर टुङ्ग्याउनुपर्ने पक्षमा छ । तर यसले पार्टी विभाजनलाई बल पुग्ने हुँदा पहिले अनौपचारिक छलफलले सहमति गरेपछि मात्रै औपचारिक बैठक राख्नुपर्ने ओलीको अडान छ । यसबीचमा केही नेताहरुले दुवै प्रस्तावलाई थाती राखेर संयुक्त प्रस्ताव बनाउनुपर्नेमा जोड दिए पनि त्यसअनुसार सहमति हुन सकेको छैन ।

ओलीलाई गृहकार्य गर्न समय होओस् भनेर स्थायी कमिटी बैठक २१ गतेलाई सारेर २० गते सचिवालय बैठक बोलाइएको प्रचण्ड-नेपाल समूहका नेताहरुको भनाइ छ । तर अल्पमत-बहुमतको हिसाब गरेर प्रचण्ड-नेपाल समूहले दबाब दिएको ओली पक्षका नेताहरुको बुझाइ छ । 

२० गतेको सचिवालय बैठकअघि पनि सहमति जुटेन भने फेरि बैठक स्थगित हुन्छ या बैठकबाटै प्रस्तावको टुंगो लाग्छ भन्ने यकिन छैन । तर यसअघिका अभ्यास हेर्दा सहमति नहुँदासम्म २० गतेको बैठकमा पनि ओली सहभागी हुने सम्भावना कम छ । ओली फेरि सहभागी हुनुभएन भने बैठकलाई निरन्तरता दिन प्रचण्ड-नेपाल समूहलाई चुनौती देखिन्छ । यसकारण कुनै एक पक्ष लचक नहुँदासम्म नेकपाभित्रको विवाद छिटै छिनोफानो हुने सम्भावना देखिँदैन ।

अन्तिम अपडेट: पुस १८, २०७७

तपाईको प्रतिक्रिया