गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन : रामचन्द्र पौडेल

 मंसिर १८, २०७७ बिहिबार १०:३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको कुटाइबाट आफूलाई पीडा बढेको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले हिजो भन्दा आज दुखाइ बढेको भन्दै गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नमिलेको बताउनु भएको छ । 

पौडेलले लेख्नु भएको छ : ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ  । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो रु मेरो चिन्ता यसैमा छ ।’

बुधबार तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले बल प्रयोग गरी पक्रेको थियो । पक्राउ परेको ३ घण्टापछि प्रहरीले उहाँलाई छोडेको थियो।  पुल उद्घाटनका विषयमा कांग्रेस र नेकपा निकट राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यहाँ निषेधाज्ञा जारी गरेको थियो । 

नेकपा पक्षको चर्को विरोध र प्रशासनको निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न पुग्नेका नेता पौडेललाई उहाँकै सुरक्षाको लागि पक्राउ गरिएको प्रहरीले जनाएको थियो । पौडेलले प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजेको आरोप  लगाउनु भएको छ ।
 

अन्तिम अपडेट: मंसिर २०, २०७७

तपाईको प्रतिक्रिया