पहिलो चौमासिकमा ४६ हजार घर पुनःनिर्माण भए

 मंसिर २०, २०७७ शनिबार ६:५३:१० | रासस
unn.prixa.net

काठमाण्डाै - आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनःनिर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनःनिर्माण सकिएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कार्तिक) को समीक्षा गर्दै लक्ष्यमा राखिएका बाँकी कामलाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी काम गर्ने प्रतिबद्धता पनि व्यक्त भएको छ ।

चार महिनाको अवधिमा छ हजार ६०० पुनःनिर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने पाँच हजार ११४ ले तेस्रो किस्ता लिएका छन् । यसै अवधिमा थप ६८५ प्रवलीकरण लाभग्राहीले सम्झौता गरेका छन् । जसमध्ये ४५० ले पहिलो किस्ता बराबर ५० हजार रुपैयाँ बुझेका छन् ।

यो अवधिमा ११० जना लाभग्राही थपिएका छन् । पहिले नै लाभग्राही कायम भएकासमेत गरी एक हजार ३५० ले अनुदानका लागि सम्झौता गरेका छन् । यसै अवधिमा पुनःनिर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन भएको छ भने धरहरा पुनःनिर्माणमा निरन्तर काम भएर १९ तलासम्मको ढलान सम्पन्न भएको छ ।

यस अवधिमा समग्र पुनःनिर्माणमा ​सात अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको पनि समीक्षा बैठकमा जानकारी दिइएको छ । समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि टिप्पणी गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले सक्रिय रुपमा काम गर्ने अवधि साढे सात महिनाभन्दा कम रहेको उल्लेख गर्नुभयो ।

सम्पूर्ण प्रयास केन्द्रीत गरेर तोकिएका लक्ष्य हासिल गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निजी आवास अनुदानका किस्ता लिने अन्तिम समयसीमा किटान भएकोले घर बनाउन बाँकी रहेका लाभग्राहीसम्म पुगी घर निर्माण सुरु गर्न प्रोत्साहित गर्न पनि निर्देशन दिनुभयो ।

चालु आवका चार महिनाको अवधिमा भूमिहीन लाभग्राहीको व्यवस्थापनमा काम भइ एक हजार ४४८ जनालाई अहिले बसिरहेको ठाउँमा घर पुनःनिर्माण गर्न स्वीकृति दिइएको छ । ७७ जनालाई जग्गा खरिद गर्न  दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।

प्रथम चौमासिकमा ग्रामीण सडक पुनःनिर्माणमा पनि काम भएको छ । यस अवधिमा २० वटा स्थानीय स्तरका सडकको ३०५ किलोमिटर सडकमा विभिन्न चरणका काम भइरहेका छन् । यस महिनाको अवधिमा पुनरावेदन गर्ने लाभग्राहीको सङ्ख्या उल्लेखनीय बढेको छ । १८ हजार २२१ व्यक्तिले पुनरावेदन गरेका पत्र पुनरावेदन समितिमा दर्ताका लागि सङ्कलन भएका छन् । यसबीचमा एक हजार ३६८ वटा निवेदनको फैसला भएको छ ।

मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्ष थप गर्ने निर्णय गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षभरि बजेट परिचालनसहित सक्रिय रुपमा काम गर्नेछ भने बाँकी पाँच महिना १० दिन दस्तावेज हस्तान्तरण, लेखा परीक्षणलगायत काम हुनेछन् ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया