आठ महिनासम्म बन्द रहेकाे पर्वतीय उडान आजदेखि शुरु

 मंसिर २०, २०७७ शनिबार १३:१९:४१ | रासस
unn.prixa.net

काठमाण्डाै – बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान  शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको देशको पर्वतीय उडान औपचारिकरुपमा खुलेको हो ।

महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एअर र यती एअरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एअरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान गर्यो । जम्मा १ सय ५० यात्रु पर्वतीय उडानमा सहभागी थिए ।

त्यस्तै यती एअरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ । यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् । यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना छ ।

यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती पर्वतीय उडान उत्साहवर्द्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकालेबीचमा उडान सङ्ख्या पनि बढाउन सकिने बताउनुभयो । यतीले हरेक शनिबार दुई पर्वतीय उडान गर्नेछ । बुद्ध एअरले पनि तीन उडान गर्ने जनाएको छ । सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार उडान गर्ने गरेको थियो । बुद्धले  पर्वतीय उडानका लागि आठ हजार नाै सय रुपैयाँ भाडादर तोकेको छ ।

अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् ।

पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन । नेपालमा कोभिड नियन्त्रणका लागि गत चैत ११ देखि देशभार लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो ।

आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी एअरलाइन्सले छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गरेका हुन् । बुद्ध र यतीले पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरेका छन् । कोरोना सङ्क्रमण कायमै रहेको र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा नआएकाले पनि एअरलाइन्सले आन्तरिक पर्यटकलाई आकर्षण गर्न उडान शुरु गरेका छन् । शनिबार बिदाको समय भएकाले परिवार आफन्त तथा साथीभाइ घुम्न सहज र सुलभ होस् भन्ने हेतुले अहिलेलाई अफर ल्याइएको एअरलाइन्सले जनाएका छन् ।
    

१० महिनापछि यतीको पहिलो उडान 

झण्डै १० महिनापछि आज यती यअरलाइन्सले पहिलो पर्वतीय उडान गरेकोे छ । कम्पनीले प्रत्येक आज एउटा उडान गर्नेगरी बुकिङ शुरु गरेको भए पनि यात्रुको मागबमोजिम दुई उडान गरिएको विज्ञप्तिमार्फत जनाएको हो । एअरलाइन्सका हवाई सुरक्षा प्रमुखसमेत रहनुभएका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको माग बढेकाले अब प्रत्येक शनिबार एटीआर–७२ जहाजमार्फत दुई वटा पर्वतीय उडान हुने बताउनुभयो ।

“हाम्रो सगरमाथाकै उचाइ बराबरको भाडादरमा दुई वटा टिकट पाइने आकर्षक प्याकेज, सङ्क्रमणरहित उडानका लागि हामीले अपनाएका विधि र प्रक्रियाप्रति यात्रुको विश्वास बढेकाले हामीलाई अझ उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो । बिहान ७ः२० मा पहिलो उडान भरेको यतीले आज ९२ जना यात्रुलाई पर्वतीय उडानमा लगेको थियो । नेपाली यात्रु तथा आवासीय विदेशी नागरिक र भारतीय नागरिकका लागि छुट्टाछुट्टै प्याकेज ल्याएको यतीले दुई टिकटका लागि क्रमशः आठ हजार ८४८ रुपैयाँ र १३ हजार २७५ रुपैयाँ भाडादर तोकेको छ ।

पर्वतीय उडान काठमाण्डाैबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनःकाठमाण्डाै अवतरण हुन्छ । अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायीत हुन्छन् । आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया