कोरोनाको कहर : परदेशी र परिवारमा मनोसामाजिक समस्यामा बढ्दै

 मंसिर २६, २०७७ शुक्रबार ११:०:२४ | रामकुमार थापा

धादिङको नीलकण्ठ नगरपालिकाका विष्णु (नाम परिवर्तन) चार वर्षदेखि कतारमा हुनुहुन्छ । सवारी चालकको काम गर्नुहुन्छ । कोरोना महामारी अघिसम्म विष्णुको जीवन ठीकठाक चलिरहेको थियो । तर कोरोना महामारी सुरु भएपछि उहाँको जीवनमा नसोचेकै भयो ।

कोरोना कहर सुरु हुनुभन्दा केही समयअघि मात्र श्रीमतीसँग सल्लाह गरेर धादिङ बजारमा ३० लाखको घडेरी किन्नुभएको थियो । घडेरी किन्ने सबै रकम साथमा थिएन । त्यसैले पुख्र्यौली खेतको पुर्जा बैंकमा राखेर अपुग रकम ऋण निकाल्नुभयो ।

मासिक रुपमा बैंकमा कर्जा तिर्ने योजना थियो । किनभने कतारमा विष्णुले कमाइ गर्दा यहाँ मासिक रुपमा कर्जा तिर्न पनि सहज नै थियो । तर कोरोना महामारीले यो योजना पूरा हुन पाएन ।

कतारमा पनि लकडाउन भयो । विष्णुको काम रोकियो । उता विष्णुको काम बन्द हुँदा ऋणको पीर दुवैतिर पर्‍यो । मासिक रुपमा बुझाउनुपर्ने बैंकको किस्ता कसरी बुझाउने ? विष्णु र श्रीमती दुवैको मन यही पीरले खान थाल्यो ।


कतारमा अब आफ्नो रोजगारी के होला ? ऋण कसरी तिरौँला भन्ने चिन्ताले विष्णुलाई थिच्यो । यता घरमा बैंकको नियमित आउने ताकेताले श्रीमतीलाई पनि तनाब हुन थाल्यो । त्यही ऋणको पीरले दुवैलाई मनोसामाजिक समस्या देखा पर्यो । 

कोरोना महामारीको डर, आम्दानीको बाटो पनि बन्द हुँदा विष्णुकी श्रीमतीलाई घरमा  निद्रा नलाग्ने। दिक्क लाग्ने, रिस उठ्ने र मन नरमाइलो हुने जस्ता समस्या देखिन थालेको छ । घरदेशमा मात्र होइन, परदेशमा बस्नेहरुलाई पनि निद्रा नपर्ने, दिक्क लाग्ने, खाना खान मन नलाग्ने, चिन्ता लिन्न भन्दा पनि चिन्ता लागिरहने, डर लाग्ने र छट्पट्टी हुने समस्या देखिन थालेको छ ।

कोरोनाले परदेशमा रहेका नेपालीले एकैपटक ठूलो क्षति भोग्नु पर्‍यो । काम बन्द भयो । ऋण र घर व्यवहारको पीर भयो । कतिपयलाई त कोरोनाको कारण लकडाउन हुँदा खान बस्नकै समस्या हुन थाल्यो । 

घर आउँ जहाज बन्द छ । परदेशमै बसौं बिहान बेलुका खान पनि धौधौ छ । यही बाध्यता र एक्कासी सृजना भएको फरक परिस्थितिका कारण कोरोनाको असर मानिसको मनसम्मै पुगेको छ ।

विष्णुको परिवारलाई जस्तै यता धादिङ नीलकण्ठकै ३२ वर्षीय हरि (नाम परिवर्तन)को पनि साउदीमा कोरोनाको कारण गर्दै आएको काम बन्द भयो । एक लाख रुपैयाँ ऋण गरेर साउदी जानुभएका उहाँको काम बन्दा हुँदा परिवारमा चिन्ता थपियो । उता हरिको पनि अवस्था झन खराब हुँदै गयो । काम नहुँदा खान र बस्नकै समस्या हुन थाल्यो ।

कमाउन गएको छोराले रुँदै फोन गरेपछि घरमा पनि चिन्ता पर्‍यो । परदेशको ठाउँ के होला, कसो होला ? यही पीरले घरका मानिसको मन खान थाल्यो । छोराकै पीरले आमालाई रुन मात्र मन लाग्ने, निद्रा नपर्ने, एक्लै बस्न मन लाग्ने, मुटु ढुकढुक हुने र खाना खानै मन नलाग्ने समस्या देखिन थाल्यो ।

कोरोनाले निम्त्याएको मनोसामाजिक समस्या

विष्णु र हरिको परिवार त प्रतिनिधि पात्र मात्र हुन् । कोरोनाको कारण घर फर्कने तयारीमा रहेकाहरु अहिलेसम्म पनि घरमा आउन पाएका छैनन् । परदेशबाट घर फर्कने प्रक्रिया झण्झटिलो र खर्च पनि आफैंले बेहोर्नुपर्ने बाध्यकारी नियमले समस्यामा परेका कतिपय अझै पनि घर फर्कन सकेका छैनन् । 

लामो समयदेखि घरबाट टाढा रहँदा र कोरोनाको त्रासको कारण अब पुनः भेट हुन्छ कि हँुदैन भन्ने चिन्ताले अहिले परदेशी र घरदेशी दुवैलाई मनोसामाजिक समस्या देखिन थालेको छ । 

कोरोनाको कारण नेपालसहित विश्वभर सङ्क्रमण दर र मृत्युदर बढ्न थालेपछि मरिन्छ कि बाँचिन्छ भन्ने चिन्ताले घरदेश र परदेशमा बस्ने दुबैलाई सताएको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाका कारण परदेशमा रहेकाहरुकोे रोजगारीसमेत गुमेपछि  घरदेश र परदेशमा बस्नेहरुलाई मन सम्बन्धी समस्या बढ्न थालेको छ । 

परदेशमा रहेकाहरुको रोजगार सङ्कटमा परेपछि नेपालमा रहेकाहरुलाई घरखर्च चलाउनसमेत समस्या भएको छ । धेरै समस्या झेलेका परदेशीका परिवारहरुलई हिजोआज भोक, निन्द्रा नलाग्ने, दिक्क लाग्ने, रिस उठ्ने, मन नरमाईलो हुने र  एक्लै बस्ने जस्ता समस्या देखिन थालेको छ ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुईपक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्चालन भएको मनोसामाजिक परामर्श कार्यक्रम अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका, धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिकाका  ४० जना भन्दा बढीलाई परामर्श सेवा प्रवाह गरिएको छ । कोरोनाको कारण परदेशीका परिवारलाई चिन्ता र दिग्दारीपनको समस्या बढी देखिएको छ ।    

 थाहा छैन कहिले सकिन्छ कोरोना कहर । कहिले सुल्झिन्छन् परदेशी र परिवारका अप्ठेरा र बाध्यता । त्यसैले पनि अब हामी आफैं मनोसामाजिक समस्या कम गर्नतर्फ लाग्न आवश्यक छ । दुई मन भौतिक रुपमा ढाटा हुँदा सृजना भएका समस्या पनि दुवै मनले मिलेर सुल्झाउने प्रयास गर्न आवश्यक छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया