धुलोबाट इँटा बनाउँदै महानगरपालिका

 मंसिर २६, २०७७ शुक्रबार १३:२५:७ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले ब्रुमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । महानगरले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । अहिलेसम्म झण्डै छ हजार पाँच सय टन धुलो जम्मा भइसकेको छ । 

यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग महानगरले छलफल गर्न थालेको छ । अहिले यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।  

काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र ठाउँ पहिचानको कुरा भइरहेको छ । महानगरले हरेक दिन सात वटा ब्रुमरले सडक सफा गर्ने काम गरिरहेको छ । महानगरले सुन्दर सहर निर्माण गर्ने कार्यअनुरूप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । 

२०७५ फागुन २८ गते इटलीबाट १० करोड ८० लाख रुपैयाँमा ल्याइएका ती ब्रुमर सञ्चालनका लागि महानगरले पाँच मार्ग निर्धारण गरेको छ । त्यही मार्गअनुरूप काम भइरहेको छ । पानी पर्ने समयमा काम गर्न समस्या भए पनि अन्य समयमा भने काम नियमित भइरहेको कामपाको भनाइ छ ।     

सडकका मुख्य ठाउँ नयाँ सडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत ठाउँमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत भएका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई वटा ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो । महानगरसँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा  छ । त्यस यन्त्रले पानी नपरेका दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्दै आएको छ ।

दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्न सक्ने क्षमताका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ । युरो मापदण्डका भनिएका ती ब्रुमरमा अगाडि, बीच र पछाडि भागका दायाँबायाँ  प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् । कानुनीरूपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्छन् भने अरु सडक विभागको मातहतमा  छ ।  

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया