सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व सङ्कलनमा झण्डै ९९ प्रतिशतले गिरावट, पर्यटक आवागमन पनि तीन प्रतिशतमा खुम्चियो

 मंसिर २७, २०७७ शनिबार १२:३१:१३ | सुवास दर्नाल
unn.prixa.net

फाइल फाेटाे

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व संकलनमा झण्डै ९९ प्रतिशतले गिरावट आएको छ । कोरोना कहरका कारण सिजनमा पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व संकलनमा ९८.७६ प्रतिशतले गिरावट आएको निकुञ्जको कार्यालयले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी (सहायक संरक्षण अधिकृत) पेम्बा शेर्पाका अनुसार गएको आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिकमा ४ करोड ४४ लाख २३ हजार ५ सय ६४ रुपैयाँ संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ५ लाख ५१ हजार १ सय ५६ रुपैयाँ २५ पैसा मात्रै संकलन गरेको छ ।

असोजदेखि मंसिरसम्म र चैतदेखि जेठसम्मलाई खुम्बु क्षेत्रमा मुख्य पर्यटकीय सिजन मानिन्छ । यस सिजनमा सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटकबाट संकलन गरिएको शुल्क र हेलिकोप्टर अवतरण तथा वन पैदावर शुल्कलाई निकुञ्जले मुख्य आम्दानीको रुपमा लिने गरेकाे छ । तर कोरोना संक्रमणका कारण गएको वर्षको चैत ११ गतेदेखिको लक डाउनले पर्यटकीय गतिविधि ठप्प हुँदा राजस्व संकलनमा भारी गिरावट आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो ।

गएको आर्थिक वर्षको पहिलो चौमासिकमा पर्यटक शुल्कबाट ४ करोड २८ लाख ९८ हजार ५ सय ५३ रुपैयाँ तथा हेलिकोप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १५ लाख २४ हजार ६ सय ११ रुपैयाँ राजस्व संकलन भएको थियो ।तर चालु आर्थिक वर्षको त्यही अवधिमा पर्यटकबाट ५ लाख १६ हजार ३ सय ५० रुपैयाँ र हेलिकोप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३ सय ६ रुपैयाँ २५ पैसा संकलन भएको छ ।

निकुञ्जले विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ भने सार्क देशका नागरिकबाट एक हजार ५ सय र एक पटक हेलिकोप्टर अवतरण गरे बापत तीन हजार रुपैयाँ अवतरण शुल्क लिने गरेको सूचना अधिकारी शेर्पाले बताउनुभयो । २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज ११४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुरा समेत रहेको छ ।

यस निकुञ्ज भित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ सय ८८ जना पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । गएको आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक वर्षमा पर्यटक आगमन तीन प्रतिशतमा खुम्चिएको छ ।

कोरोना कहरकाबीच चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिक महिनामा १ सय ३३ जना विदेशी र ५ सय ५५ जना स्वदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । साउन र भदौमा शून्य बनेको पर्यटन गतिविधि असोजमा १ सय ४६ स्वदेशी तथा २५ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए भने कार्तिकमा ४ सय ९ जना स्वदेशी तथा १ सय ८ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए ।

गएको आर्थिक वर्षको पहिलो चौमासिकमा १७ हजार ५ सय ६६ विदेशी र ४ सय ८८ स्वदेशी गरि १८ हजार ५४ जना पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया