वैदेशिक रोजगारी : उजाडिंदै पारिवारिक सम्बन्ध

 पुस ३, २०७७ शुक्रबार १०:११:५३ | रामकुमार थापा
unn.prixa.net

काठमाण्डौ – ‘तिम्रै सुन्दर भविष्यका लागि’ भनेर परदेशिएका श्रीमान सम्बन्ध बिच्छेद गर्न स्वदेश आउलान् भनेर धादिङका दिलमाया (नाम परिवर्तन) ले कल्पना पनि गर्नुभएको थिएन ।

चार वर्षअघि मलेसिया जाँदा ‘छोरी र तिम्रा लागि पैसा कमाएर ल्याउँछु, तिमीहरुका लागि सुन्दर संसार बनाउँछु’ भनेका थिए श्रीमानले । तर उनै श्रीमान चार वर्षपछि दिलमायासँग सम्बन्ध तोड्न आए । फाटेको मन जोड्ने कोशिस त नगरेको हैन उहाँले । तर हरेक प्रयासहरु असफल भए । दुई मन नै फाटेपछि सम्बन्ध जोड्नुको पनि के अर्थ ? दिलमाया पनि श्रीमानको इच्छामा राजी हुनुभयो ।

स्वदेश हुँदा श्रीमान – श्रीमती मिलेर सम्हालेको घर अहिले भताभुङ्ग भएको छ । काखको छोरीकोसमेत बिचल्ली भएको छ । 

बिहे गरेको दुई महिनामै कतार गएका धादिङकै राम (नाम परिवर्तन) १४ वर्ष भयो घर फर्किएका छैनन् । राम सम्पर्कबिहीन हुँदा यता घरमा श्रीमतीको जीवनको रंग उडेको छ । परिवार नै चिन्तामा डुबेको छ । छोरो एक दिन त फर्किएला भने आशमा परिवार छ । तर त्यो दिन आउला या नआउला के ठेगान ?

बिहे गरेर गएका पुरुष मात्र होइन, ससाना बालबच्चा छाडेर परदेशिएका महिला पनि फर्किएका छैनन् । 

तीन सन्तान छाडेर कुवेत गएकी धादिङकै अनु (नाम परिवर्तन)को पनि लामो समय भयो सञ्चो बिसञ्चोको खबरसमेत आएको छैन ।

बिहे गरेर गएका पुरुष मात्र होइन, ससाना बालबच्चा छाडेर परदेशिएका महिला पनि फर्किएका छैनन् । 

यता घरमा श्रीमानले जाँडरक्सी खाने र बालबच्चाको रेखदेख राम्रो नगर्ने भएकाले अनुका तीनजना छोराछोरीको बिचल्ली नै भएको छ । बिहान बेलुकाको छाक टार्न धौधौ छ ।

आमा परदेश नजाँदा राम्रो नाना र मिठो खाना नभए पनि छोराछोरीले आमाको माया पाएका थिए । तर आमा परदेशमै सम्पर्कबिहीन भएपछि बालबच्चा राम्रो नाना र मिठो खानाबाट मात्र होइन, आमाको मायाबाट पनि बञ्चित भएका छन् । 

उनीहरु त उदाहरण मात्र हुन् । वैदेशिक रोजगारीको मिठो सपनामा नमिठो दैनिकी भोग्नेहरु हिजोआज थुप्रै भेटिन थालेका छन् । हुन त वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले नै देशको अर्थतन्त्र चलेको छ । तर सरकारले भने वैदेशिक रोजगारीको कारण उत्पन्न भएका यस्ता समस्या न्यूनीकरणमा खासै चासो देखाएको छैन ।  

रोजगारीका लागि परदेशिएकाको परिवारमा पारिवारिक बेमेलका घटनाहरु बढ्दै गएका छन् । धादिङमा पनि वैदेशिक रोजगारीकै कारण पारिवारिक विखन्डनका घटना बढेको पाइन्छ । 

किन उजाडिंदैछ परदेशीको परिवार ?

कारण १ : श्रीमान – श्रीमतीबीच शंका 

वैदेशिक रोजगारीको कारण पारिवारिक विखन्डन हुनुको पहिलो कारण श्रीमान –श्रीमतीबीचको शंका हो । श्रीमान र श्रीमतीबीच विश्वासको वातावरण नबन्दा शंका पैदा भएर घरझगडा हुने गरेको देखिएको छ । श्रीमतीको बारेमा परदेश भएकाहरुलाई परिवारका सदस्य र अरुले पनि अनावश्यक कुरा सुनाइदिने गर्दा पारिवारिक बेमेल हुने गरेको छ । 

परदेशमा भएकाले पनि श्रीमतीको कुरा सुन्नुको साटो अरुकै बढी कुरा सुन्ने र श्रीमतीका कुरामा विश्वास नगर्दा शंका बढ्दै गएको छ । भन्छन् नि शंकाले लंका जलाउँछ । हो बेलैमा सही विचार नपु¥याउँदा परदेशी र श्रीमतीबीच शंकाले नै सम्बन्ध सकाउँदै लगेको पाइन्छ । 

कारण २ : पैसा कसको नाममा पठाउने भन्नेमा विवाद 

परदेश गएकाले पैसा कसको नाममा पठाउने भन्ने विषयमा पनि ठूलो विवाद हुने गरेको पाइन्छ ।

परदेशमा मासिक रुपमा पाउने तलब श्रीमती, आमा वा परिवारको अन्य सदस्यको नाममा पठाउने भन्ने विषयमा परदेशीलाई पनि निकै तनाव हुने गरेको छ । 

परदेश गएकाले पैसा कसको नाममा पठाउने भन्ने विषयमा पनि ठूलो विवाद हुने गरेको पाइन्छ ।

आमाको नाममा पठाउँदा श्रीमती रिसाउने र श्रीमतीको नाममा पैसा पठाउँदा आमा रिसाउने प्रवृत्तिले परिवारमा ठूलो समस्या निम्त्याएको छ भने परदेशीलाई पनि अनावश्यक तनाव हुने गर्छ । जसको कारण परिवारिक विखन्डन हुने गरेको छ ।

कारण ३ : परदेश गएपछि घरदेश बिर्सने 

घरपरिवारलाई सुन्दर सपना देखाउनले र आफू पनि परदेशको सुन्दर सपना बोकेर जहाज चढ्नेहरू धेरैले परदेशमा पाइला टेकेपछि घरदेश बिर्सेर उतै रमाउने गरेको पाइन्छ । कतिपय विदेश गएपछि उतै बस्ने, घरमा सम्पर्क नगर्ने, पैसा पनि नपठाउने र बेपत्ता हुने गरेका छन् ।

जसले गर्दा घर परिवारमा मानसिक तनाव मात्र हैन, अन्य विभिन्न समस्या हुने गरेको छ  । परदेश जानेले ऋण काढेर गएको भए साहुको तनाव, घर चलाउन आर्थिक समस्याका साथै बालबच्चाको बिचल्ली हुने गरेको छ । जसको फलस्वरुप वैदेशिक रोजगारीकै कारण परिवार विखन्डन भएका छन् । 

कारण  ४ : परदेशी भूमिमा मृत्यु वा बेपत्ता हुनु

परदेशमा गएकाहरुको उतै मृत्यु हुँदा वा परदशमै बेपत्ता हुँदा पनि पारिवारिक विखन्डनका घटना बढेका छन् ।

घरपरिवारलाई सुन्दर सपना देखाउनले र आफू पनि परदेशको सुन्दर सपना बोकेर जहाज चढ्नेहरू धेरैले परदेशमा पाइला टेकेपछि घरदेश बिर्सेर उतै रमाउने गरेको पाइन्छ ।

परदेशमा श्रीमानको मृत्यु हुँदा घरमा परिवारले वास्ता नगर्ने र लाञ्छना लगाउने गरेको कारण धेरै महिलाहरु समस्यामा परेका छन् । परदेश गएकाहरु वर्षौंदेखि बेपत्ता हुँदा पनि घरमा आफन्तहरु बिचल्लीमा पर्ने, विभिन्न समस्यामा पर्ने र जसको कारण परिवार विखन्डन भएको पाइन्छ ।

कारण  ५ : लतमा फस्नु 

परदेशमा बस्ने कतिपयले लड्री वा टोटो खेल्ने वा लागूपदार्थ सेवन गर्ने गरेको पाईन्छ । परिवारको जिम्मेवारी बोकेर परदेश गएकाहरु यसरी लतमा फसेर परिवारलाई बेवास्ता गर्दै जाँदा समस्या हुने गरेको छ ।

परिवारमा पैसा पनि नपठाउने र कम्पनीमै मिटर ब्याजको प्रयोग गरी विभिन्न खेलहरु खेल्दा नेपालमा घरखर्च पुर्याउन समस्या हुने गरेको छ । जहाँ अभाव हुन्छ, त्यहाँ कलह सुरु हुन्छ भन्छन् । यही कुरा धेरै परदेशीको जीवनमा मेल खाने गरेको छ । 

कारण  ६ : परदेशमै घरजम गरेर बस्नु 

परदेश गएकाहरु कतिपय उतै घरजम गरेर बस्ने गरेका छन् । कमाउन ऋण काढेर परदेशिनेहरुले उतै घरबार गरेको खबरले यता घरमा ठूलो समस्या सृजना गर्ने गरेको पाइन्छ । परदेश जानेले मात्र होइन, घरमा हुनेले पनि उसँग थुप्रै सपना साँचेका हुन्छन् ।

त्यो सपना टुट्दा परिवारिक विखन्डन हुने गरेको पाइन्छ । 

कारण  ७ : पैसा कसको हुने भन्नेमा विवाद  

संयुक्त परिवारमा विदेश गएर कमाएको पैसा कसको हुने भन्नेमा विवाद हुने गरेको छ । विदेश गएकाहरुले कमाएको पैसा परिवार सबैले खर्च गर्ने कि परदेश गएकाहरुकै नाममा हुने भन्नेमा परिवारमा किचलो हुने गरेको पाइन्छ । कतिपयको विदेशमा वर्षौं बसेर आउँदा पैसा पनि नहुने र सम्बन्ध पनि बिग्रने गरेको छ । 

कारण  ८ : सामाजिक सञ्जालको दुरुपयोग 

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग हुँदा पनि पारिवारिक विखन्डनका घटनाहरु बढेका छन् । सामाजिक सञ्जालकै कारण विभिन्न व्यक्तिसँग साथी बन्ने, फोटो शेयर गर्ने र कुराकानी हुँदाहुँदै  पछि त्यसकै कारणले समस्या हुने गरेको छ ।

परदेश गएका सबैको पारिवारिक विखण्डन भएको छैन । धेरैको राम्रो पनि छ । बालबालिकाले राम्रो विद्यालय पढ्न पाएका छन् । न्यानो लुगा लगाउन पाएका छन् । धेरैको जीवनस्तर सुधारिएको छ ।

फोटो सपबाट फोटो बिगारेर पोष्ट गर्ने, अश्लिल फोटो वा भिडियो पठाउने र पछि त्यही कारणले श्रीमान श्रीमतीबीच विवाद हुँदा पारिवारिक विखन्डनका घटनाहरु बढिरहेका छन् ।

परदेश गएका सबैको पारिवारिक विखण्डन भएको छैन । धेरैको राम्रो पनि छ । बालबालिकाले राम्रो विद्यालय पढ्न पाएका छन् । न्यानो लुगा लगाउन पाएका छन् । धेरैको जीवनस्तर सुधारिएको छ ।

तर कतिपयले यस्तै ससना कुरालाई व्यवस्थित गर्न नसक्दा घरबार नै बिग्रिएका छन् । त्यसकारण तपाईँ परदेशमा हुनुहुन्छ या परदेशीको परिवार हुनुहुन्छ भने यस्ता कुरामा ध्यान दिएर वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया