घट्दै कोरोना सङ्क्रमण ः बढ्दै निको हुने दर

 पुस ४, २०७७ शनिबार ६:५५:५७ | रासस
unn.prixa.net

काठमाण्डाै - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजारमाथि नै सङ्क्रमण दर रहेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म सङ्क्रमण दर सीमित रहनु सुखद खबर रहेको जनस्वास्थ्य विज्ञको भनाइ छ । निको हुने दरमा क्रमशः वृद्धि हुँदा सकारात्मक परिणाम देखिँदै आएको उहाँहरुको बुझाइ छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हिजाे मात्रै पाँच हजार ७०६ को परीक्षण गर्दा जम्मा ७८२ मा मात्रै सङ्क्रमण देखिएको छ । जसमा ३०५ महिला र ४७७ पुरुष छन् । गएको २४ घण्टामा मात्रै एक हजार २९ निको भएका छन् । यसले सङ्क्रमण दरभन्दा निको हुने दर बढ्दो क्रममा रहेको देखिएको छ । सङ्क्रमितमध्ये निको हुने दर वृद्धि हुँदै ९५ दशमलव ६ प्रतिशतमा पुगेको छ । यसले कोरोनाबाट उच्च सावधानी अपनाउँदा जोखिमबाट जोगिन सक्ने तथ्याङ्कले पुष्टि गर्छ ।

अहिलेसम्म देशभर दुई लाख ५२ हजार सङ्क्रमति भएको विवरण छ । निको हुनेको सङ्ख्या दुई लाख ४१ हजार पुगेको छ । आइसोलेशनमा नौ हजार ३१७ सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोभिड-१९ भएका एक हजार ७६५ को ज्यान गएको छ । हिजाेमात्रै १६ जनाको ज्यान गएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अहिले ४२७ क्वरेण्टीनमा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Bhim Tamang

    Dec. 19, 2020, 7:52 a.m.

    समाचार जनताको स्वास्थ्यलाई झुक्याउने खालको शिर्षक बनाएर लेख्नु भने पत्रकार मित्र किन की पहिले बिस हजार भन्दा बढी जांच हुने ठाउँमा अहिले हजार बाह्र सयको पीसीआर जांच हुन्छ त्यसमा पनि तिस चालिस प्रतिशत पोजेटिभ देखिन्छ यदि पहिलेकै जस्तो जांच गर्ने हो भने एकै दिन पन्ध्र विस हजार देखिन्छ मित्र यस्तो समाचारले जनता सतर्कता हुने भन्दा पनि कोरोना नियन्त्रमा आएछ भनेर स्वास्थ्यको मापदण्ड पालना गर्न छोडेर ठुलो समस्या ल्याउन सक्छ/

  •  0 Reply

तपाईको प्रतिक्रिया