पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – रोजगारीको खोजीमा भौंतारिनुभएका दैलेखका केशरबहादुर शाहीको वैदेशिक रोजगारीमा पठाउने एजेण्टसँग भेट भयो । एजेण्टले भने –‘यूएईमा महिनामै लाखौं कमाइ हुने काम छ, जान्छौ त ?’
देशमा काम नपाएर भौंतारिएका बेला उहाँलाई हो झैं लाग्यो । एजेण्टले जसो भने उसै गर्नुभयो । एजेण्टले भने अनुसारको राम्रो काममा यूएई जान उहाँले तीन लाख रुपैयाँ पनि बुझाउनुभयो ।
एजेण्टलाई रकम बुझाएपछि जब टिकट हातमा पर्यो तब केशबहादुरलाई आफूलाई रोजगारीका लागि भिजिट भिसामा पठाईदैछ भन्ने जानकारी भयो ।
काम गर्न भिजिट भिसामा नजाने भनेर एजेण्टसँग प्रतिवाद पनि गर्नुभयो । तर अर्को विकल्प थिएन । टिकट हातमा परिसकेको थियो । एजेण्टलाई तीन लाख रुपैयाँ बुझाइसक्नुभएको थियो ।
‘उता गएपछि हामी नै राम्रो काम खोजिदिन्छौं तिमीलाई मात्र यहाँबाट लैजानका लागि यो भिसा लगाएको हो, उता केहीको कमी हुन्न भन्दै आश्वासन देखाए,’ केशरबहादुर भन्नुहुन्छ, ‘अब कुरा धेरैअघि बढिसकेकाले पनि मलाई होला भन्ने लाग्यो नाईँभन्दा पनि मेरो पैसा फसिसकेको थियो ।’
उहाँ जहाज चढेर यूएई त पुग्नुभयो । तर घुम्ने भिसामा गएको मानिसले त्यहाँ गएपछि के गर्ने ? उहाँ अलपत्रै पर्नुभयो । तीन महिनासम्म यूएईमा बिताउँदा उहाँले सोच्दै नसोचेका दुःख सहनु पर्यो । काम पाउनु त परको कुरा स्वदेश फर्कनका लागि पनि निकै अप्ठेरो झेल्न पर्यो ।
तीन महिनासम्म यूएईमा ज्यान पाल्न घरबाट पैसा मगाउनुभयो भने कहिलेकाहीँ त बास पनि सडककै भयो । यस्तै हण्डर र ठक्कर भोगेर उहाँ तीन महिनापछि स्वदेश फर्कनुभयो ।
भिजिट भिसामा नबुझी परदेश जाँदा उहाँको पैसा फस्यो । समयको बर्बाद भयो । परदेशको ठाउँमा अनेकन अप्ठेराहरु सहनु पर्यो ।
केशरबहादुरजस्तै एजेण्ट र म्यानपावरले देखाएको प्रलोभनमा परेर भिजिट भिसामा परदेश पुगेपछि अलपत्र पर्नेहरु धेरै छन् । केशरबहादुर त जसोतसो घर फर्कनुभयो तर परदेशमा काम पाउने आशमा बस्दाबस्दै वर्षौंदेखि कतिपय अलपत्र परेका छन् ।
दाङका बीरेन्द्र थापा झण्डै ९ महिनादेखि यूएईमै अलपत्र हुनुहुन्छ । उहाँलाई काठमाण्डौको एउटा कन्सलटेण्सीले आबुधावी पुलिसमा जागिर दिलाउने भन्दै भिजिट भिसामा यूएई लगेको थियोे । ऋण खोजेको साँढे ५ लाख रुपैयाँ एजेण्टलाई बुझाएर यूएई पुग्नुभएका बीरेन्द्रले न अहिलेसम्म काम पाउनुभएको छ न स्वदेश फर्कन सक्नुभएको छ । यूएईमा बिचल्ली नै भएको छ ।
भिजिट भिसामा जाँदा तीन महिनाको भिसा हुन्छ, त्यो सकिइसक्यो । अब उहाँलाई काम गर्नका लागि वर्किङ भिसा लगाउनु पर्छ । तर त्यो भिसा लगाइदिने कसले ?
‘कहिले काम लगाइदिन्छु भन्छन् कहिले भिसा लगाइदिन्छु भन्छन्, मानिसपिच्छे कुरा हुन्छ तर काम हुँदैन,’ बीरेन्द्र भन्नुहुन्छ, ‘घर फर्कन पनि त्यतिको ऋणमा डुबियो, अब के होला आफैंलाई थाहा छैन ।’ समयमै आफ्नो भिसाको अवस्था नसच्चाएमा बीरेन्द्र अब जरिबानामा पर्न पनि सक्नुहुन्छ ।
बीरेन्द्रजस्तै सङ्खुवासभाकी सीता राई पनि भिजिट भिसामा यूएई जानुभएको एक वर्ष भयो । उहाँको योजना भने अलिक फरक थियो ।
सीताको श्रीमान पनि यूएईमै कार्यरत हुनुहुन्थ्यो । भिजिट भिसामा गएर काम खोज्ने र श्रीमानसँगै बसेर काम गर्ने उहाँको सोच थियो । तर अर्काको देशमा सबै कुरा आफ्नो सोच अनुसार भएन । उहाँले विभिन्न हण्डर खेप्नृ पर्यो ।
कहिले काम लगाइदिने आश्वासनमा स्थानीय एजेण्टबाटै ठगीनुभयो त कहिले काम नपाउँदा महिनौंसम्म काम बिहिन हुनपर्यो । अहिले उहाँ जसरी पनि नेपाल फर्कन चाहनुहुन्छ । तर नेपाल फर्कन पनि सजिलो छैन । भिजिट भिसामा गएर लामो समय बस्दा जरिबाना हुन सक्छ । अन्य कानूनी समस्या हुन सक्छ ।
भिजिट भिसामा गएर हातमा सीप र क्षमता भएमा त्यही अनुसारको काम खोजेर गर्ने र मनग्य दाम कमाउने नेपाली पनि प्रशस्तै छन् । तर बुझ्दै नबुझी एजेण्टको चक्करमा लागेर मोटो रकम खर्चेर पुग्नेहरु भने समस्यामा परेका छन् भने ठगीमाथि झन ठगी भएको छ ।
रोजगारीका लागि भिजिट भिसामा जाने क्रम बढेपछि यसलाई व्यवस्थित गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । रोजगारीका लागि भिजिट भिसा लगाएर कसरी श्रमिकहरु गन्तव्य देशमा पुगे भनेर समितिले अहिले छानबिन गरिरहेको अध्यागमन विभागका सूचना अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।
कानूनी प्रक्रिया पूरा गरेर हिँडेकालाई अनुहार हेरेर रोक्न नमिल्ने अध्यागमन विभाग बताउँछ । सूचना अधिकारी पौडेलका अनुसार कुन भिजिट भिसामा काम खोज्न हिँडेकाहरुले पनि भिजिट भिसामा जानका लागि जुन प्रक्रियाहरु पूरा गर्न पर्छ यदि त्यो गरेका पाइएमा रोक्न मिल्दैन ।
उहाँ भन्नुहुन्छ, ‘अनुहार हेरेर घुम्नकै लागि हो र होइन भनेर भन्न त्यति सजिलो विषय भने होइन, तर छुट्याउनुपर्ने स्थिति भने छ, अहिले अध्यागमन कार्यालयमा हुने साथीहरुले विभिन्न आधारहरुमा छुट्याउने गर्नुहुन्छ ।
भिजिट भिसामा हिँडेका नागरिकको सबैभन्दा पहिला विभागले कानूनले तोकेको प्रक्रिया पूरा गरे नगरेको जाँच गर्छ । यदि कानूनी आधार र प्रक्रिया पूरा गरेर हिँडेको छ भने त्यस्ता नागरिकलाई विभागले रोक्न सक्दैन ।
भिजिट भिसाको नाममा भएका यस्तै जोखिम न्यूनीकरणका लागि अहिले थप केही प्रावधान थप्ने प्रस्ताव गरिएको छ ।
अध्यागमन कार्यविधि २०६५ ले पासपोर्ट भिसा र दुईतर्फी टिकट भएको हुनुपर्ने भन्ने व्यवस्था यसअघि पनि गरेको थियो । घुम्न जाने हो भने एक हजार डलर लिएर जानुपर्ने वा कोही स्पोन्सर छ भने स्पोन्सर लेटर लिएर जानुपर्ने भन्ने व्यवस्था पहिले पनि थियो ।
तर यति हुँदाहुँदै पनि भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएपछि कार्यविधिमा केही प्रावधान थपेर विभागले मन्त्रालयमा पेशको गरेको जनाएको छ ।
नयाँ प्रावधानमा बिमा गर्नुपर्ने व्यवस्था थप गरिएको छ । २० लाखको बिमा भयो भने, भिजिट भिसामा गएकाहरु त्यहाँ कुनै दुर्घटना भएको खण्डमा अथवा उपचार गराउनै पर्ने अवस्था आएमा बिमाबाट हुने कुरा उल्लेख गरिएको छ।
यस्तै अंग्रेजी जानेको हुनुपर्ने व्यवस्था पनि अहिले थप गरिएको छ । समूहमा घुम्न जाँदा समूहको एक जनाले अंग्रेजी जाने पनि यात्रा सहज हुन्छ, तर एक्लै हिँडेको मानिसले कम्तिमा पनि आफू जाने ठाउँ र आफ्नो उदेश्यबारे अंग्रेजीमा भन्न सक्ने हुनुपर्ने विभागको भनाइ छ । यस्तै भिजिट भिसामा जाँदा केही भइहालेमा आफैं जिम्मेवार हुन्छु भनेर स्वघोषणा गर्नुपर्ने नयाँ व्यवस्था थप गरिएको छ ।
यस्तै नाता लाग्ने आफ्नो मान्छे विदेशमा छ भने त्यो नाता खुल्ने प्रमाणपत्र ल्याउनुपर्ने र उनीहरुको हकमा अंग्रेजी जान्नु पर्ने प्रावधान लागू हुने छैन । तर यो व्यवस्था प्रस्तावित मात्रै भएकाले यही व्यवस्था लागू हुन्छ कि हुँदैन भन्ने यकिन भने हुँदैन ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कानून उल्लङघन गरेर वैदेशिक रोजगारीमा श्रमिक कसैलाई पनि नछोड्ने बताउनुभएको छ ।
नीति, नियम र अनुशासनमा बसेर विभागले अनुगमन र निगरानी गरिरहेको भन्दै कानून उल्लङघन गर्नेलाई नछोड्ने बताउनुभएको हो ।
पछिल्लो समय गैरकानूनी रुपमा अन्तर्वाता लिने, श्रमिकको पासपोर्ट जम्मा गर्ने लगायतका कार्य गर्ने म्यानपावर कम्पनीलाई पनि विभागले कारबाही गरिरहेको छ । कतिपयलाई कालो सूचीमा राखेको छ भने कति म्यानपावरको कारोबार रोक्कासमेत गरेको छ ।
यस्तै महानिर्देशक दाहालले भिजिट भिसामा श्रम गर्न नजान आग्रह गर्नुभएको छ । सबै कुरा बुझेर आफ्नो योग्यता र क्षमताको आधारमा श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान उहाँको अनुरोध छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।