इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल वेष्ट ब्राेमसँग बराबरीमा रोकियो

 पुस १३, २०७७ सोमबार ६:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्ट ब्राेमसँग बराबरीमा रोकिएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्राेमसँग एक/एक गोलको बराबरीमा रोकिएको हो । लिभरपुलका साडियो मानेले खेलको १२ औं मिनेटमा नै गोल गर्न सफल भए । खेलको सुरुवातमा नै अग्रता बनाएको लिभरपुलले त्यसपछि गोल थप्न सकेन ।

खेलको ८२ औं मिनेटमा वेष्ट ब्राेमका सेमी अजयीले गोल गरेपछि ब्राेमले खेल बराबरी गर्न सफल भयो । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन । यो बराबरीपछि लिभरपुलले दोस्रो स्थानको एभर्टनसँगको दूरी पाँच अंकमा पुर्याउने मौका गुमायो । बराबरीपछि लिभरपुलको ३२ अंक भएको छ । वेष्ट ब्राेमको आठ अंक छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीलाई लिड्स युनाइटेड हराएको छ । घरेलु मैदानमा लिड्सले बर्नलीलाई १/० ले हराएको हो । खेलको सुरुवातमै प्राप्त पेनाल्टीमा गोल गर्दै लिड्सले तीन अंक बटुल्यो । यस सिजन लिड्सले घरेलु मैदानमा तीन खेलमा जित निकालेको छ ।

जितसहित लिड्स २० अंकसहित तालिकाको ११ औं स्थानमा उक्लिएको छ । बर्नली १३ अंकसहित रेलिगेशन जोनभन्दा मात्र दुई स्थानमाथि छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया