‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि ओखलढुङ्गाका पाँच विद्यालय छनाेट

 पुस १४, २०७७ मंगलबार १२:५८:३६ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गाका पाँच विद्यालय 'एक विद्यालय एक नर्स' कार्यक्रममा छनाेट भएका छन् । गएकाे वर्षदेखि विद्यालयमा स्वास्थ्य परामर्श तथा सामान्य उपचारको व्यवस्थाका लागि प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सुरु गरेको थियो ।

यस कार्यक्रमअन्तर्गत ओखलढुङ्गाका पाँच विद्यालय छनाेट भएका हुन् । छनाेट हुने विद्यालयमा मोलुङ गाउँपालिका १ को सरस्वती मावि बुङ्नाम, चिशङ्खुगढीको सरस्वती मावि खानीभञ्ज्याङ छन् । यस्तै सुनकोशी गाउँपालिकाको कटुञ्जे मावि, मानेभञ्ज्याङ गाउँपालिकाको हर्कपुर मावि टोक्सेल र खिजीदेम्वा गाउँपालिकाको कुण्डली मावि खिजीकाति छनाेट भएका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रत्येक विद्यालयलाई स्टाफ नर्स उपलब्ध गराउने कार्यक्रम अनुसार दोस्रो चरणमा पाँच विद्यालय छनाेटमा परेका हुन् । विद्यालयमा स्वास्थ्यसम्बन्धी परामर्श तथा प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी राख्न निर्देशिका निर्माण गरेर कार्यक्रम सुरु भएको प्रदेश सभाका सदस्य एवं अर्थ समितिका सभापति मोहनकुमार खड्काले बताउनुभयो । 

यसअघि लिखु गाउँपालिकाको सिंहदेवी र सिद्धिचरणको रुम्जाटारमा यो कार्यक्रम सुरु भइसकेकाे छ । विद्यालयमा स्वास्थ्यकर्मी हुँदा विद्यार्थीका स्वास्थ्य समस्या समाधान र स्वास्थ्य परामर्शका लागि सहज हुने सगरमाथा जनता माविका प्रधानाध्यापक डिल्लीराम कार्की बताउनुहुन्छ । सदरमुकामको विद्यालय यो कार्यक्रममा समेटिनुपर्ने उहाँको भनाइ छ । 

ओखलढुङ्गाका अन्य विद्यालयले पनि यस कार्यक्रम सुरु गर्न माग गरेका छन् । सदरमुकाममा रहेका र य अघि नमुना घोषणा गरिएका विद्यालयहरूमा भने यस कार्यक्रम लागू भएको छैन ।   

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया