'वैदेशिक रोजगारीको कारण भएका समस्या समाधान गर्न जिल्ला प्रशासन तयार छ’

 पुस १५, २०७७ बुधबार १३:२८:३८ | रामकुमार थापा
unn.prixa.net

धादिङ – धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले वैदेशिक रोजगारीको कारण भएको समस्यामा सहयोग गर्न जिल्ला प्रशासन तयार रहेको बताउनुभएको छ ।

सुरक्षित आप्रवासन (सामी) परियोजना धादिङको अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले वैदेशिक रोजगारीको कारण ठगी धेरै हुने गरेको भन्दै पीडितलाई न्यान दिलाउनको लागि कानून अनुसार आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सामी परियोजना धादिङको अर्ध वार्षिक समिक्षा हिजो मंगलबार सम्पन्न भएको छ । वैदेशिक रोजगारीलाई, सुरक्षित, भरपर्दो र मर्यादित बनाउनको लागि सञ्चालन भइरहेको सामी परियोजनाको गतिविधिहरुको समिक्षा गरिएकोे सामी परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले बताउनुभयो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले पालिकाले गाउँमै रोजगारी सृजना गर्नेगरी काम गरिरहेको बताउनुभएको छ । सुरक्षित आप्रवासन (सामी) परियोजना धादिङको अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै मेयर ढुङ्गानाले विदेशबाट फर्केकाहरुको सीपको सही सदुपयोग नीलकण्ठ नगरपालिकाले गर्ने पनि बताउनुभएको छ ।

साथै मेयर ढुङ्गानाले सामी परियोजनाले महत्वपुर्ण काम गरेको भन्दै सामी परियोजनाले समृद्ध नीलकण्ठ बनाउनको लागि एउटा ईंट्टा थप्ने काम भएको बताउनुभयो । यसैगरी गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले सामी परियोजनाको काम राम्रो भएको भन्दै परियोजना सञ्चालनको लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

कार्यक्रममा सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजना सञ्चालन भइरहेको चारवटा पालिकाको अर्धवार्षिक कार्य प्रगतीको बारेमा जानकारी गराउनु भएको थियो ।

धादिङको नीलकण्ठ नगरपालिका, धुनीवेशी नगरपालिका, गंगाजमुना गाउँपालिका र थाक्रे गाउँपालिकामा सुरक्षित आप्रवासन ( सामी) परियोजना सञ्चालन भईरहेको छ । नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भटास नेपालको सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन सामी परियोजना देशका ३९ जिल्लामा सञ्चालनमा छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया