त्रिभुवन आर्मी क्लबलाई एएफसीकाे लाइसेन्स हस्तान्तरण

 पुस १५, २०७७ बुधबार १५:४८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको छ ।

आर्मी मुख्यालयमा भएको कार्यक्रममा नेपाली फुटबलको सर्वाेच्च निकाय एन्फाका अध्यक्ष शेर्पाले फिफा र एएफसीको सबै मापदण्ड पूरा गरी पाएको क्लब लाइसेन्सको प्रमाणपत्र आर्मीलाई हस्तान्तरण गर्नु भएको हो । सो प्रमाणपत्रलाई शेर्पाले आर्मीका प्रमुख पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मापदण्ड तोकिएकोमा पूरा गर्दै नेपालको शीर्ष डिभिजन लिग खेल्ने आर्मीलाई गएकाे मंगलबार एएफसीले लाइसेन्स दिने निर्णय गरेको थियो ।

‘ए’ डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएको थिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा नेपालको एक मात्र क्लबले अब एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ । क्लबले महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने छ ।

गएकाे वर्ष सम्पन्न ‘ए’ डिभिजन लिग २०७६ मा आर्मी उपविजेता हो । एएफसीका प्रतियोगिता अन्तर्गत नेपालको हकमा ‘ए’ डिभिजन लिग च्याम्पियन क्लबले एएफसी कप खेल्न पाउँछ । एएफसीले यसपालिदेखि आफ्नो प्रतियोगितामा सहभागी हुनका लागि क्लब लाइसेन्स अनिवार्य गरेपछि विभिन्न शीर्ष डिभिजन क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया