चिनियाँ खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति

 पुस १७, २०७७ शुक्रबार ११:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चीनले सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी साइनोफार्मले तयार पारेको कोरोना भाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ ।

कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभावकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका बीबीसीको खबरमा उल्लेख छ । चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरी राखिएको छ ।

सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोना भाइरस महामारी सुरु भएको थियो । चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृतिलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनका लागि मुख्य कदमका रूपमा हेरिएको छ ।

चीनले गएको जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यहाँ अहिलेसम्म खोपको ४५ लाखभन्दा बढी मात्रा वितरण गरिसकिएको  छ । चीनले आफूले विकास गरेको खोप कम विकसित देशहरूलाई उचित मूल्यमा दिने पनि बताएको छ ।
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया