प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै एपीएफ फाइनलमा

 पुस १८, २०७७ शनिबार १३:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफ पुगेको छ ।

शनिबार दाङको लमहीमा जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै विभागीय क्लब एपीएफले फाइनल यात्रा तय गरेको हो । सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । एपीएफको जितमा जोती पाण्डे २६ रनमा नटआउट रहँदा सरिता मगर पनि १९ रनमा नटआउट रहिन् ।

यसैगरी कप्तान सिता रानामगर भने ७ रनमा आउट भइन् । उनले १७ बल खेल्दा एक चौका प्रहार गरिन् । सुदूरपश्चिमकी कविता कुँवरले १ विकेट लिइन् ।

बिहानको खराब प्रकाशका कारण खेल १६ ओभरमा झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर ६० रन मात्रै बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि कविता जोशीले नटआउट २२ रन जोड्दा रेवती धामीले १२ तथा कविता कुँवरले ९ रनको योगदान गरिन् । दुई खेलाडीले खाता खोल्न सकेनन् भने अरु खेलाडीले अन्डर फाइभको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए । पहिलो सेमिफाइनल विजेता एपीएफले आजै हुने अर्को सेमिफाइनल प्रदेश एक र लुम्बिनीको विजेतासँग आइतबार उपाधि भिडन्त गर्ने छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया