रासायनिक मलमा कालोबजारी

 साउन ३१, २०७५ बिहिबार ९:३५:२७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – गौशालाबजारमा गएको मंगलबार दिउँसो गौशाला ४ विर्ताकी सुमित्रादेवी चौधरीले २ हजार ४ सयमा २ बोरा रसायनिक युरिया मल खरिद गर्नुभयो । कृषि सामग्री कम्पनी लिमिटेडमार्फत प्रति बोरा ८ सयका दरका पाईने युरिया मल सुमित्राले गौशाला बजारमा रहेको ताज ट्रेर्डसमा १२ सय मूल्य तिरेर खरिद गर्न बाध्य हुनुभयो।

उहाँले १२ सय बोराको त्यो मल पनि दुई दिन लगाएर वल्लतल्ल पायनुभयो । खेतमा रोपेको धानमा तत्कालै खाद्य नराखे वाली विग्रने भएपछि वाध्य भएर १२ सयका दरले युरिया मल खरिद गर्नुपरेको उहाँले बताउनुभयो । यहाँको बजारक्षेत्रमा खुलेआम रुपमा रसायनिक मल युरियामा कालोबजारी भैरहेको सोनमा गाँउपालिका ४ का किसान रामछविला यादवले बताउनुभयो । व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेर युरिया मलमा कालोबजारी गरिरहेको किसानहरुले बताएका छन् । ताज ट्रेर्डसमै रसायनिक मल किन्न पुगेका धान किसान यादव दररेटमा कुरा मिल्न नसकेपछि रित्तै हात घर फर्किनुभयो ।

सर्लाहीको हरिपुर्वाबाट धान खेतमा युरिया मल खोजि गर्दै गौशाला आइपुग्नुभएका ५० वर्षीय रमेश साह पनि यहाँ ठगिनुभएको छ  । उहाँले २ विगाहा धान खेतमा युरिया मल छर्न १२ सय प्रतिबोरामा नै मल खरिद गर्न बाध्य हुनुभएको छ । उनीसँगै रहेका अर्का धान किसान योगेन्द्रप्रसाद यादवले युरिया मलमा भएको कालाबजारी नियन्त्रण गर्न स्थानीय प्रशासनसँग सहयोग माग्नुभयो ।

युरिया मलमा कालाबजारी भैरहेको जानकारी पाएपछि नगरपालिकाका मेयर शिवनाथ महतो, उपमेयर तथा अनुगमन समितिका संयोजक आशा लामा समेत प्रहरीको टोली पुग्दा ताज ट्रेर्डसका संचालक इश्लाम अंसारी मोटरसाइकलमा फरार भए । युरिया मलमा ठगि भैरहेको खबर थाहा पाएपछि यहाँका पत्रकारहरु ग्राहक बनेर दररेट बुझ्न जाँदा यो रहस्य सार्वजानिक भएको हो । पत्रकारसँगको कुराकानीमा प्राप्रोईटर इश्लाम अन्सारीले प्रतिवोरा १ हजार २ सय भन्दा तल कुनै पनि हालतमा विक्री गर्न नसक्ने जनाएका थिए । पत्रकारले पसले अन्सारीसँग खरिद गरेको खाद्य खरिद गरेको विल माग्दा विल विजक देखाउन मानेनन् । ‘मेरो पसल त फलामको छ खाद्य किनेको विल म सँग छैन ।’ कालोबजारी गरिरहेका उनले सरकारको कर पनि छलि गरिरहेको पाइएको छ ।

हामीले बारम्बार व्यापारीलाई विलविजक जारी गर्न सार्वजानिक रुपमै आव्हान गरिएको गौशाला उद्योग वाणिज्य संघका सचिव सुनिलचन्द्र झाले बताउनुभयो । उहाँले भन्नुभयो ‘ कालोबजारी गर्ने व्यापारीलाई कानुनी दायरामा ल्याई कारवाही गर्नुपर्छ ।’

यता बजार अनुगमन टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइने गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया