प्रदेश २ नेकपा संसदीय दलकाे नेतामा महताे चयन

 पुस २१, २०७७ मंगलबार १६:२:४० | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । मण्डललाई हटाउँदै नेकपाकाे प्रदेश नम्बर २ को संसदीय दलको नेतामा शत्रुघ्न महतो चयन हुनुभएकाे छ ।

संसदीय दलकाे नेतामा उहाँकाे एकल उम्मेदवारी परेपछि मङ्गलबार उहाँ दलको नेतामा निर्विरोध रूपमा चयन हुनुभएको हो ।

चुनाव कार्यक्रमअन्तर्गत मङ्गलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र पाैने ३ बजे उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने निर्धारित तालिका रहेकोमा महतोको एकल उम्मेदवारी परेपछि उहाँ संसदीय दलको नेता बन्नुभएकाे ​निर्वाचन संयोजक जगतप्रसाद यादवले बताउनुभयाे । 

प्रचण्ड–नेपाल पक्षको प्रस्तावमा महतो संसदीय दलको नेता चयन हुनुभएकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसद दलको बैठकदेखि चुनाव प्रक्रियासम्म सहभागी भएका थिएनन् ।

मङ्गलबार नै बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले सत्यनारायण मण्डलविरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो । उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको दलको बैठकले अविश्वास प्रस्ताव पारित गरेको थियो ।

प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतकमा सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली रहेका छन् । बैठकलगत्तै नेकपाका प्रदेश सभा सदस्यहरूले सभामुख सरोजकुमार यादवलाई नेकपा संसदीय दलको बैठकले गरेको निर्णयबारे जानकारी गराएका छन् ।

प्रदेश नम्बर २ मा नेकपाका ३२ जना सांसद रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया