पल्सर स्पाेर्टस् अवार्डका लागि चार विधाकाे मनाेनयन सार्वजनिक

 पुस २१, २०७७ मंगलबार १८:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल खेलकुद पत्रकारको आयोजनामा हुन लागको १७ औँ संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन मङ्गलबार सार्वजनिक गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो । 

हरेक वर्ष झैँ मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो । वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् । 

वर्षका महिला खेलाडीतर्फ कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।

यस्तै वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, कराँतेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्की मनोनयनमा परेका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको थियो । २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक रेग्मीले बताउनुभयो ।

यसअघि आयोजक मञ्चले पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । पिपुल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन जारी रहेको छ । ई–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपुल्स च्वाइस विधाको विजेता छनोट हुनेछ ।  

पल्सर स्पोर्ट्स अवार्डमा अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाईसमेत सम्मान गरिने बताइएको छ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिने आयोजकले जनाएको छ । 

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिश होमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । अवार्ड कार्यक्रम पुस २८ गते ललितपुरको सातदोबाटोकाे कराँते हलमा सेमीभर्चुअल रूपमा गरिने भएको छ ।   

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया