झन्डै वर्ष दिन क्रिजबाहिर रहेका खेलाडी फिटनेसमा ध्यान दिँदै

 पुस २२, २०७७ बुधबार २०:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झन्डै वर्ष दिन क्रिजबाहिर रहेका क्रिकेट खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृङ्खलाको तयारीमा लागिरहेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सिमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका छन् । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मङ्सिर दोस्रो हप्तादेखि बन्द प्रशिक्षणमा राखेर चरणबद्ध तरिकाले अभ्यास गराइरहेको छ । 

कोरोना भाइरसको महामारीका कारण गएकाे चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो । त्यही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको थियो भने चितवनमा भएको च्यारिटी खेलबाट खेलाडीको फिटनेस लेभल प्रस्ट पनि भएको थियो । त्यही अवस्थालाई नियाल्दै नेपाली क्रिकेट टोलीका फिजियोले खेलाडीको फिटनेस लेभल विकासका लागि अहिले मेहनेत गरिरहेका छन् । 

राष्ट्रिय क्रिकेट टाेलीका फिजिओ विक्रम न्यौपानेलाई साथ दिन ट्रेनर अहिले नेपाली खेलाडीको साथमा छन् ।  त्यसो त केही खेलाडीले व्यक्तिगत रूपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समयदेखि मैदान ओर्लिन नपाएका खेलाडीकाे वृद्धि विकासका लागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिए ।  

प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना हुने पनि क्यानले यसअघि जारी गरेको सूचनामा उल्लेख गरेको थियो । निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो विक्रम न्यौपानले केही दिनयताको फिटनेसले खेलाडीमा सुधार आएको बताए ।  

यस्तै राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले चाेट बिस्तारै निकै हुँदै आएको बताए । ऐरीले ओमानसँगको शृङ्खलालाई लक्षित गरेर टोलीले अभ्यास गरिरहेको जानकारी दिए । उनलाई साथ दिँदै युवा ब्याट्सम्यान रोहित पौडेलले अभ्यासमा फर्किँदा खुसी लागेको प्रतिक्रिया दिए ।

सन् २०१४ मा बङ्गालदेशमा भएको टी–२० विश्वकप खेल्दै अन्तर्राष्ट्रियस्तरमा उदीयमान देशको परिचय बनाएको नेपालले एकदिवसीय मान्यता पनि पाइसकेको छ । अहिलेको अवस्थामा तयारीलाई तीव्रता दिएको नेपालले ओमन, अमेरिका र नेपालसँगको त्रिकाेणात्मक शृङ्खला सुखद बनाउन जुटिरहेको हो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया