पल्सर स्पाेर्ट्स अवार्ड : पिपल्स च्वाइस अवार्ड भलिबलकी अरुणालाई

मन्देकाजी उत्कृष्ट पुरुष खेलाडी गाैरिका उत्कृष्ट महिला खेलाडी

 पुस २८, २०७७ मंगलबार १९:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यो वर्षको पिपल्स च्वाइस अवार्ड राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छिन् ।

नेपाल खेलकुद पत्रकार सङ्घले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यो वर्षको पिपल्स च्वाइस अवार्ड शाहीले पाएकी हुन् । उनले ३७ दशमलव २५ प्रतिशत मत प्राप्त गर्दै अवार्ड जितेकी हुन् ।

यस्तै पौडीकी गौरिका सिंहले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् । नेपालमा भएको १३ औँ सागमा गौरिकाले चार स्वर्णसहित नाै पदक जितेकी थिइन् ।

यस्तै कराँतेका मन्देकाजी श्रेष्ठले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । मन्देकाजीले १३ औँ सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए ।

यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमले पल्सर स्पोर्टस अवार्डमा टिम अफ द इयर अवार्ड प्राप्त गरेको छ । महिला टिमले १३ औँ सागमा ऐतिहासिक रजत पदक र बङ्गलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशिपमा स्वर्ण जितेको थियो ।

यस्तै दक्षिण एसियाली खेलकुदमा गल्फमा दोहोरो स्वर्ण जितेका सुवास तामाङ उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।

यसैबीच तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । १३ औं सागमा नेपाललाई तेक्वान्दोमा सर्वाधिक १२ स्वर्ण दिलाउने श्रेष्ठ यो वर्षको उत्कृष्ट प्रशिक्षक बनेका हुन् ।

टेबल टेनिसका खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई पल्सर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस्तै पारा क्रिकेट टोलीका कप्तान बास्केटबल र टेबल टेनिसका खेलाडी दिगमसिंह चेम्जोङ पारा एथलेटी अवार्डबाट सम्मानित भएका छन् ।

यस्तै यो वर्षको स्पेसल अवार्ड दुई जना खेलाडीले पाएका छन् ।  १३ औँ सागमा स्वर्ण पदक विजेता एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यलाई संयुक्त रुपमा यो वर्षको स्पेसल अवार्ड प्रदान गरिएको हो ।   

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया