प्रिमियर लिगमा ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

 माघ १, २०७७ बिहिबार ५:५१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । 

म्यानचेस्टर सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो । फोडेनले केबिन डि ब्रुएनाको पासको मद्दतमा खेलको ४४ औं मिनेटमा गोल गरेका थिए । 

जितसँगै म्यानचेस्टर सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७ औं स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा टोटनह्याम र फुलह्यामले एक/एक गोलको बराबरी गरेका छन् । खेलको २५ मिनेटमा टोटनह्यामका लागि ह्यारी केनले एक गोल गरे । 

त्यसपछि दबाबमा परेको फुलह्यामले खेलको ७४ औं मिनेटमा एक गोल गर्दै खेललाई बराबरीमा पुर्याए । फुलह्यामका लागि इभान काभालिरोले गोल गरेका हुन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया