विनाेदकाे शतक, राजेशकाे ५ विकेट, आर्मीले गण्डकीलाई हरायाे

 माघ २, २०७७ शुक्रबार १७:११:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै – शुक्रबारदेखि सुरु भएको चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आर्मीले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । 

जितका लागि दुई सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी ४८ ओभरमा एक सय ८९ रन बनाउँदै अलआउट भयो । उसका लागि समीर कँडेलले ५० रन जोडे । त्यस्तै कप्तान विपिन खत्रीले अविजित ३७ र अर्जुन कुमालले ३६ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन । 

गण्डकीलाई एक सय ८९ रनमा रोक्न आर्मीका राजेश पुलामीले पाँच विकेट लिए । त्यस्तै भीम सार्कीले तीन तथा रोहित पौडेल र आकाश चन्दले एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८७ रन बनायो । उसका लागि कप्तान विनोद भण्डारीले ७६ बलमा एक सय ११ रनको अविजित पारी खेले । त्यस्तै राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रनको योगदान गरे ।  

बलिङतर्फ गण्डकीका विपिन खत्री र विशाल पौडेलले दुई–दुई विकेट लिँदा दीपेश खत्री र चन्द्र पौडेलले एक–एक विकेट लिए । 

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया