निगम भन्छ– ‘भारत–नेपाल पेट्राेलियम पाइप लाइनमा समस्या छैन’

 माघ २, २०७७ शुक्रबार २०:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइप लाइन मार्फत नियमित रूपमा डिजल आयात भएको जनाएको छ । 

त्यस पाइप लाइन खण्डअन्तर्गत पर्ने बिहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक डिजल चोरीको प्रयास भए पनि कुनै क्षति नभएको जानकारी आएको निगमले जनाएको हो ।

शुक्रबार विभिन्न सञ्चारमाध्यममा पाइप लाइन फोडेर इन्धन चोरी भएको समाचार सार्वजनिक भएपछि निगमले इण्डियन आयल कर्पोरेशनको मोतिहारी कार्यालयसँग सम्पर्क गर्दा त्यस पाइप लाइनबाट डिजल चोरीको प्रयास गरिएको तर त्यसको कारणबाट कुनै ठूलो परिमाणमा क्षति नभएको जानकारी प्राप्त भएको जनाइएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले एक विज्ञप्ति जारी गर्दै पाइप लाइनमा कुनै समस्या नआएको भन्दै निरन्तर तोकिएको परिमाणमा डिजल आयात भइरहेको बताउनुभएको हो । उहाँका अनुसार पाइप लाइनबाट प्रतिघण्टा दुई लाख ५० हजार लिटर डिजल आयात भइरहेको छ ।

पाइप लाइन सुरक्षाको सम्पूर्ण जिम्मा भारतीय पक्षको भएको भन्दै नेपाललाई कुनै पनि नोक्सानी नभएको जनाइएको छ । २०७६ भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा पाइल पालइनको उद्घाटन गर्नुभएको थियो ।

भारतमा पाइप लाइन सुरक्षाका लागि छुट्टै सुरक्षा निकाय गठन भएता पनि नेपालमा कानुन नबन्दा नेपाली सेनालाई पाइप लाइन सुरक्षाको जिम्मा दिइएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया