नेपाल संस्कृत विश्वविद्यालयमा व्यावसायिक विषयकाे पढाइ हुने

 माघ ८, २०७७ बिहिबार ११:२६:१९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - नेपाल संस्कृत विश्वविद्यालयमा व्यावसायिक विषयकाे पढाइ हुने भएकाे छ । 

वैदिक संस्कृतका विभिन्न विधामा अध्यापन हुँदै आएको संस्कृत विश्वविद्यालयले इञ्जिनियरिङ, कृषि, जीवन व्यवस्थापन, योग, चिकित्सालगायतका शिक्षाको पनि अध्यापन गर्ने भएको छ।

विश्वविद्यालयले यसै वर्षदेखि वास्तु इञ्जिनियरिङकाे पढाइ सुरु गर्न थालेको जानकारी गराएको छ । वास्तु इञ्जिनियरिङको अध्यापनका लागि पाठ्यक्रम तयार भइसकेको विश्वविद्यालयले जनाएकाे छ । १२ कक्षाको रिजल्ट आएपछि शास्त्री अर्थात् स्नातक तहको लागि भर्ना आह्वान गर्दा वास्तु इञ्जिनियरिङको पनि भर्ना खोलिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव प्रकाश लामिछाने बताउनु हुन्छ।

वैदिक कृषिलाई आधुनिक कृषिसँग जोड्ने गरी अध्यापन हुने गरेर कृषि विषयको पनि पाठ्यक्रम तयार भइरहेको विश्वविद्यालयले जनाएको छ । यी दुवै विषयले वैदिक दर्शनलाई आधुनिकतासँग जोडेर वर्तमान समयको आवश्यक्ता पूर्ति गर्ने तथा बेरोजगार नहुने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको विश्वास छ ।

नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न क्याम्पसमा अध्यापन भइरहेका ५६ विषयको पाठ्यक्रम २२ वर्षपछि परिवर्तन गरेर शास्त्री तहलाई चार वर्षे बनाएको छ । देशभित्रकै अन्य विश्वविद्यालयसँग समकक्षी हुने गरी तीन वर्षे शास्त्री तहलाई यही शैक्षिक सत्रदेखि चार वर्षे बनाउन थालिएको उपकुलपति प्राध्यापक डाक्टर यादव प्रकाश लामिछानेले बताउनु भयो ।

विश्वविद्यालयले स्नातकोत्तर तहमा जिवन व्यवस्थापन, स्नातक तहमा फार्मेसीलगायतका नयाँ विषयको अध्यापन पनि सुरु गर्ने तयारी गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया