चाैदण्डीकाे पाेस्टमा पुलिसकाे ६ गाेल

 माघ ९, २०७७ शुक्रबार १९:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

ललितपुरमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालिका उदयपुरलाई ६–० को फराकिलो अन्तरले हराएको हो ।

पुलिसले उदयपुरलाई अधिकांश समय दबाबमा राखेको थियो । एकतर्फी जस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २/२ गोल गर्दा अमृता जैशी र निर्मला विकले एक/एक गोल थपे । 

तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध पुलिसले रेखाको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा अमृताले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा सिर्जनाले प्रहार गरेको बल उदरपुरकी गोलकीपरको हातमा लागेर गोलमा परिणत भएको थियो । इन्जुरी समयमा निर्मलाले गोल थप्दै पहिलो हाफमा पुलिसलाई ४–० को अग्रता दिलाएकी थिएन् ।

सुरुवातदेखि नै उदयपुरलाई दबाबमा राखेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्‍याे । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रेखाले व्यक्तिगत दोस्रो गोल थप्दा इन्जुरी समयमा सिर्जनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दै टिमकाे जित निश्चित गरिन् ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया