‘याे दाजुकाे मिरमिरे आँखा’ का सर्जक, गन्धर्व संस्कृतिका धराेहर गायककाे निधन

 माघ १२, २०७७ सोमबार १४:१७:३६ | रासस
unn.prixa.net

काठमाण्डाै – यो दाजुको मिरमिरे आँखा
                   कस्तो मेरो बिगार्‍याे दिमाख
                   नरोऊ मायालु 
                   .................. 

गन्धर्व संस्कृतिका धरोहर लोक कलाकार धनबहादुर गायककाे निधन भएको छ । 

गायकको उपचारको क्रममा आज बिहान मणिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली र चमेली’ लगायत अजर–अमर गीतका सर्जक हुनुहुन्थ्यो । 

विसं २०२१ मा जन्मनुभएका गायक छाती र फोक्सोमा समस्या देखिएपछि मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सघन उपचार कक्षमा उपचारत हुनुहुन्थ्यो । गन्धर्व संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गायकले पछिल्लो समय सारङ्गी संरक्षण पाठशालासमेत चलाउँदै आउनुभएको थियो ।

उहाँ 'लोक संस्कार र संस्कृति बाँचे मात्र आफ्नो पहिचान बाँच्छ'  भन्नेमा विश्वास गर्नुहुन्थ्यो । गन्धर्व गायनका चर्चित गायक झलकमान गन्धर्वका भाञ्जा गायकले विसं २०६६ मा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाको स्थापना गरेर गन्धर्व संस्कृति संरक्षणमा सक्रिय बन्नुभएको थियो । 

झलकमानले नेपाली मौलिक गीत सङ्गीतको सिर्जना र संरक्षणमा आफ्नो जीवन नै समर्पण गर्नुभयो तर उहाँको योगदानको कदर कहीँ कतैबाट नभएकाले उहाँको स्मृति र सारङ्गी संरक्षणका लागि यस पाठशाला खोलिएको गायकले बताउँदै आउनुभएको थियो  । 

एक दशकअघि दुई सारङ्गीबाट सुरु गरिएको त्यस पाठशालामा संरक्षकका रूपमा लोककवि अलिमियाँ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ रहनुभएको छ । लोकगीतको संरक्षणमा सक्रिय मियाँले दशकअघि धनबहादुरले जाहेर गरेको इच्छालाई मूर्तरूप दिन १० सारङ्गी प्रदान गरेर गायकलाई हौसला थप्नुभएको थियो । पाठशालामा आठ वर्षदेखि २५ वर्षसम्म उमेर समूहकाहरूले सारङ्गी रेट्न सिकिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया