एनएनआईपीए स्पाेर्ट्स अवार्ड आउँदाे फागुन ८ मा हुने

 माघ १३, २०७७ मंगलबार १६:१९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्ड आउँदाे फागुन ८ गते हुने भएको छ ।  

एनएनआईपीएले मङ्गलबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएकाे हाे । एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले अवार्ड कार्यक्रम का लागि मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताउनुभयो । 

सङ्घले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको बताएको छ । यस विधालाई स्काई ब्राण्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताइएको छ । अघिल्लाे वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित सङ्घले गरेको सिफारिसका आधारमा विभिन्न खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिँदै आएको छ ।

यसअघि सङ्घले भक्तपुर, टोखा, पाटन, वसन्तपुरमा पालिकाकाे सहयोगमा अवार्डको आयोजना गरिसकेको छ । सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् भने सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सङ्घले सम्मान गर्दै आएको छ । अवार्डमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिएका खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी सङ्घले जनाएको छ ।

सङ्घको सिफारिसमा उत्कृष्ट घोषित हुने खेलाडीबाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजक संस्थाले जनाएको छ । एनएनआईपीएले अवार्ड कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेल पत्रकार वा फोटो पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिताबाट पुरस्कार प्रदान गर्दै आएको छ ।   

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया