पीएम कप सेमिफाइनल : एपीएफद्वारा पुलिसलाई २ सय ४ रनको लक्ष्य

 माघ १४, २०७७ बुधबार १३:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफले पुलिस क्लबलाई दुई सय चार रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ  गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनायो । एपीएफले १३ रन हुँदा पहिलो विकेट गुमाएको थियो । २६ रनमा दोस्रो विकेट, ४१ रन हुँदा तेस्रो विकेट र ४३ रनमा चौथो विकेट खेर फाल्यो ।

यस्तै एपीएफका ओपनर आशिफ शेख मात्र एक रनमा आउट भए भने सुवास खकुरेलले १९ रन बनाए । त्यसपछि कप्तान शरद भेषवाकर व्यक्तिगत १८ रनमा आउट भए भने सुमित महर्जन पनि मात्र एक रन पेभेलियन फर्किए ।

पाँचौं विकेटका लागि शंकर राना र सन्दिप जोराबीच अर्धशतकीय साझेदारी भएको थियो । तर जोरा व्यक्तिगत ३४ रनमा आउट भएपछि एपीएफले एक सय पाँच रनमा पाँचौं विकेट गुमायो । त्यसको केहिबेरमा शंकर राना पनि ४४ रनमा बाहिरिँदा एपीएफले एक सय २७ रनमा छैटौं विकेट गुमायो ।

त्यसपछि अमर रौटेला व्यक्तिगत चार रनमा आउट भएपछि एपीएफले एक सय ४४ रनमा सातौं विकेट गुमायो । अन्तिममा एपीएफका लागि भुवन कार्कीले ४२ रनको योगदान गरे भने कमलसिंह ऐरीले १९ रन जोडे । यस्तै अभिनाश बोहोराले ११ रन बनाए । बलिङमा आरिफ शेखले तीन विकेट लिए भने ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले दुई दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया