पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी – बैतडीको झुलाघाट । वारि सुनसान नेपाली बजार, पारि हराभरा भारतीय बस्ती । बीचमा सुसाइरहेको महाकाली नदी । वारि नेपालतिर माथि अग्लो पहाड । पहाडको फेदीमा ससाना घर । भारततिर चाहिँ ठूलाठूला घर, बाक्लो बजार, ट्याँट्याँ टुँटुँ गाडीका आवाज पनि सुनिन्छ । वारि नेपालतिर न गाडीको ओहोरदोहोर, न मान्छेको चहलपहल ।
कोरोना महामारी सुरु भएपछि गएको चैतमा बन्द भएका भारतीय सीमा क्षेत्रका अरु नाकासँगै बैतडीको झुलाघाट पनि शुक्रबारदेखि खोल्ने सरकारले निर्णय गरेको छ । सरकारले गरेको निर्णयअनसार भारतीय स्थानीय प्रशासनलाई पत्र पठाउने तयारी गरिरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।
अत्यावश्यक काममा भारत जानुपर्नेलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा यसअघि पनि आवतजावतको व्यवस्था मिलाइएको थियो । तर यसरी प्रशासनबाट सिफारिस लिएर हिँडेकालाई पनि भारत जान त्यहाँको प्रशासनले आनाकानी गर्ने गरेको छ ।
नाका नखुल्दा स्थानीयबासिन्दा र व्यापारी बढी समस्यामा छन् । ११ महिनादेखि पसलको सटरमा लागेको तालामा खिया लागिसकेको छ । त्यही खिया लागेका ताला हेर्दै टोलाइरहनुभएको छ, झुलाघाटका सञ्जयसिंह भाट । अवस्था सामान्य हुन्थ्यो भने दिनभर झुलाघाट बजारमा चहलपहल हुन्थ्यो । व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले अन्य क्षेत्र सामान्य रुपमा नै अघि बढ्दा पनि झुलाघाट नाका नखुल्दा व्यवसायीको बिजोग भएको बताउनुहुन्छ, सञ्जय ।
स्थानीय व्यापारी सञ्जयका अनुसार झुलाघाटमा ३० भन्दा पसल छन् । होटल, लुगा, किरानादेखि रक्सी पसलसम्म छ । कोरोना महामारी अघिसम्म यो नाकाबाट दिनहुँ सयौं मानिस आवतजावत गर्थे ।
भारत रोजगारीका लागि मात्र होइन यो नाका हुँदै सुदूरपश्चिमको पहाडी जिल्लाका बासिन्दा भारत उत्तराखण्डको पिथौरागढमा उपचार गर्नसमेत जान्छन् । उत्तराखण्डका धेरैजसो भारतीय तिर्थयात्रीले पनि नेपाल प्रवेश गर्न यही नाकाको प्रयोग गर्छन् । त्यसैले पनि झुलाघाटमा भिडभाड हुन्थ्यो ।
तर अहिले बजारको सटरमा लगाएको तालामासमेत खिया लागिसकेको छ । बजारमा जम्मा पाँच परिवार मात्रै छन् । उनीहरुमध्येकै एक हुन् सञ्जयसिंह भाट ।
उहाँको घर नै दशरथचन्द नगरपालिका अन्तगर्त पर्ने झुलाघाटमा हो । उहाँ र परिवारले मिलेर २० औँ वर्षदेखि झुलाघाटमा व्यवसाय गर्दै आइरहेको छ । चियानास्ताको होटल र रक्सी पसल छ सञ्जयको । तर जुन दिनदेखि नाका बन्द भयो, त्यसै दिनदेखि लागेका ताला आजका दिनसम्म पनि खुलेको छैन । ‘बजारमा भाडामा सटर लिएर व्यवसाय गरिरहेका व्यापारीहरु ताला मारेर हिँडिहाले, हामी त कहाँ जानु ?’ सञ्जय भन्नुहुन्छ, ‘हामी पाँच परिवार नातेदार हौं, हामी नै यो नाका रुँघेर बसिरहेका छौं ।’
भन्न त झुलाघाट नाकामै घर भएका उनीहरुलाई सटर भाडामा लिएर व्यवसाय गर्ने व्यापारीले भन्छन् : ‘तपाईँहरुको त आफ्नै घर छ, भाडा तिर्नु पर्दैन ।’
तर दुई देशबीचमा घर भएका उनीहरुलाई त्यही घरको भर छैन । कोरोना आयो, व्यवसाय बन्द भयो । खोलेर पनि के गर्नु बजार र बाटोमा कोही हिँड्दैनन् ।
महामारीमा देश खोज्दै आएकाहरु महाकाली पारी रोइरहे । कोही नाका खुल्ने आशमा भोकभोकै कति दिनसम्म पारि नै बसे त कतिपयले ज्यानकै माया मारेर महाकाली नदीमा हाम फाले र पौडिएर वारि आए ।
‘हामी वारि बसेर त्यो दृश्य हेरिहरह्यौं तर केही गर्न सकिएन, त्यो बेला पनि नेपाल सरकारसँग साह्रै चित्त दुख्यो,’ उहाँ भन्नुहुन्छ ।
दिन बित्यो, महिना बित्यो । अब त एक वर्ष बित्न लागिसक्यो । नाका खुलेको छैन । सरकारले लकडाउन खोलेसँगै सबै व्यापार व्यवसायहरु खुलेका छन् । तर झुलाघाटका बजार खुलेको छैन ।
अघिपछि काममा व्यस्त हुने व्यवसायी हिजोआज दिनभरी घाम ताप्न बजारभन्दा वर आउँछन् । सुसाउँदै गरेको महाकाली नदी हेर्दै दिन कटाउँछन् । ‘काम पनि छैन कमाइ पनि छैन, बजारमा घाम पनि लाग्दैन, त्यसैले अहिले यहाँ भएकाहरु डाँडो उता गएर घाम ताप्छौं बस्छौं, ’ सञ्जय सुनाउनुहुन्छ ।
कोरोना महामारी अघिसम्म यो नाका हुँदै दिनकै सयौं मानिस हिँड्दा सञ्जयको पनि कमाइ दिनकै २० हजार रुपैयाँसम्म हुन्थ्यो । तर अहिले ११ महिनादेखि व्यवसायमा ताला लागेपछि खानसमेत समस्या हुन थालेको छ ।
पारि भारतबाट सामान ल्याउन पाईंदैन । खाद्यान्न किन्न पनि झुलाघाटबासीलाई बैतडीको सदरमुकाम गोठालापानी धाउनुपर्ने बाध्यता छ ।
व्यवसायी भन्छन्, ‘पहिले हामीले सामान बेच्थ्यौं, अहिले हामी आफैं दाल चामल किन्न हिँड्नु परेको छ, त्यो पनि पैसा भए त हो, कमाएर राखेको पनि सकियो ।’
झुलाघाटका व्यवसायीलाई बैंकबाट ऋण लिन समेत कठिनाई भएको बताउनुहुन्छ सञ्जय ।
भन्नुहुन्छ –बैंकले सीमाबाट ८ किलोमिटरसम्म बसोबास भएकालाई हामी ऋण दिंदैनौं भन्छ बैंक, सीमामा घर भयो भन्दैमा हामीलाई ऋण नदिने भन्ने त हुँदैन नि, के हामी महाकाली नदीमा हामफल्नु त अब ?’
लामो समयसम्म नाका बन्द हुँदा व्यवसायीलाई मात्र होइन, भारत जानैपर्ने बाध्यतामा परेकालाई पनि कठिन छ । सदरमुकामभन्दा टाढा टाढा घर भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय पुग्नै एक दिन लाग्छ । भारत जानुपर्ने कारणसहित पासका लागि निवेदन दिनुपर्छ । गाउँदेखि प्रशासन पुग्न र पास बनाउँदा दुई दिन बित्छ ।
जिल्ला प्रशासनकै सिफारिसमा हप्तामा दुई दिन मात्र नाका खुल्छ । अत्यावश्यक कामका लागि भने जुनसुकै बेलामा पनि आवतजावतको व्यवस्था मिलाइन्छ । तर हातमा भारत प्रवेश गर्न पाउने सिफारिस बोकेर झुलाघाट नाका पुग्दा पनि सजिलो छैन् ।
उपचारका लागि दिदीबहिनीसहित भारत हिँड्नुभएका बैतडीको मेलौली गाउँपालिकाका लालमणि भुल भन्नुहुन्छ, ‘बिहान ११ बजे नाका खुल्छ भनेर हाम पाmल्दै आयौं, पाँच बज्दा पनि भारतले नाका खोलेको छैन, अब हामी के गरौं ?’
भारत हिँडेका नेपालीलाई भारतले रातिसम्म पनि गेट खोलिदिएन भने के गर्ने भन्ने डर छ । झुलाघाटमा बसौं बजार बन्द छ । होटल छैन । पानी खानसमेत समस्या छ । हातमा पारि भारत जान पाउने सिफारिस त छ । नेपालतिर गेट खोल्न कुनै समस्या पनि छैन । तर भारतीय पक्षलाई मन लागे नाका खोलिदिन्छन् । उनीहरुको इच्छा नभएसम्म नाका खुल्दैन । कहिलेकाहीँ त भोकभोकै गेट खुल्ने आशमा दिनभरी कुर्नुपर्छ ।
बिहानदेखि नाकामा गेट खुल्ने समय कुर्दै बस्नुभएका लालमणिलाई अब राति पनि गेट खुलेन भने के गर्ने भन्ने चिन्ता छ ।
‘फर्केर घर जान सकिंदैन, यहाँ बस्ने ठाउँ छैन, महिला मान्छे छन् साथमा, नेपालले जा त भन्यो तर भारतले खोल्दैन,’ लालमणि भन्नुहुन्छ,‘भारतले गेट खोल्दैन भने हामीलाई पनि पास नदिनु नि बरु ।’
सरकारले सिफारिस दिंदा पनि भारतले गेट नखोलीदिंदा भारत हिँड्नुभएकी सरस्वती चन्दलाई पनि रिस उठेको छ ।
‘बिहानदेखि भोक न पानी भएर बसेका छौं, यहाँ हामी महिलालाई पिसाब फेर्ने ठाउँसमेत छैन, तल नदी छ बजारमा ठाउँ छैन, नाका खोलेको भए त पारि जान पाइन्थ्यो, नखोल्ने भए हामीलाई यहाँ आउने सिफारिस नै नदिएको भए हुन्थ्यो,’ सरस्वती आक्रोश व्यक्त गर्नुहुन्छ ।
जिल्ला प्रशासनले सिफारिस दिए पनि, नेपाल पक्ष गेट खोल्न तयार भए पनि भारतले नचाहेसम्म पारि गेट खुल्दैन । झुलाघाटमा भारत हिँडेकाहरू ठूलाठूला ताला मारेको गेटमै बसेर ९० मिटरको पुल पारिको भारततिर हेर्दै टोलाइरहन्छन् ।
खानेकुरा खोज्दै त्यहाँ पुगेका बाँदर बन्द गेट फुत्त नाघ्दै कहिले भारत त कहिले नेपाल निस्फिक्री वारपार गरिरहेका देखिन्छन् । भारत जानै पर्ने कामले पुगेका नेपाली चाहिँ तिनै बाँदरलाई हेर्दै आफू र आफ्नो सरकारलाई धिकार्दै बस्छन् । शुक्रबारदेखि सरकारले सुदूरपश्चिमका सबै नाका खोल्ने निर्णय त गरेको छ । तर भारतीय पक्षले नखोल्दासम्म समस्या उस्तै रहन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।