रसुवामा प्रबलीकरणमा परेका लाभग्राहीमध्ये एक जनालाई मात्र दोस्रो किस्ता वितरण

 माघ १८, २०७७ आइतबार २०:२३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा प्रबलीकरणमा परेका लाभग्राहीमध्ये एक जनालाई मात्र दोस्रो किस्ताको रकम वितरण गरिएको छ । २०७२ वैशाख १२ गते गएको भूकम्पले आंशिक क्षति गरेका भूकम्प पीडितलाई प्रबलीकरण लाभग्राहीमा राखिएको थियो । 

भूकम्पले पूर्ण क्षति गरेका घरको पुनर्निर्माण अन्तिम चरणमा पुग्दै गर्दा प्रबलीकरणमा परेका लाभग्राहीमा दोस्रो किस्ता कसरी लिने भन्नेबारे अझै अन्योल छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयका अनुसार रसुवामा एक सय ५६ लाभग्राही प्रबलीकरणमा परेका छन् । जसमा एक सय १७ जनासँग सम्झौता गरिएको छ । सम्झौता गरिएकामध्ये एक सय १६ लाभग्राहीले पहिलो किस्ताबाापतको ५० हजार रुपैयाँ बुझेका छन् । तर दोस्रो किस्ता बुझ्ने लाभग्राही एक जनामात्र छन् । 

कार्यालय प्रमुख विश्वराज मरासेनीका अनुसार प्रबलीकरणमा परेका लाभग्राहीलाई यसबारे  जानकारी नहुँदा समस्या सिर्जना भएको हो । रसुवामा भूकम्पपछिको पुनर्निर्माणमा निजी आवास निर्माणतर्फ प्रगति भएको देखिए पनि विस्थापितको स्थानान्तरण, प्रबलीकरणमा परेका लाभग्राहीलाई दोस्रो किस्ता वितरण र गुम्बाको पुनर्निर्माणमा प्रगति हुन सकेको छैन । 

रसुवामा १२ हजार आठ सय ७६ लाभग्राही रहेकामा अहिलेसम्म १२ हजार दुई सय ८६ सँग अनुदान सम्झौता भएको छ । जसमध्ये १२ हजार दुई सय ६२ ले पहिलो, ११ हजार ६ सय ५३ ले दोस्रो र ११ हजार एक सय ७१ लाभग्राहीले तेस्रो किस्ता बुझेका छन् ।  जिल्लामा लाभग्राही कायम भएकामध्ये पाँच सय ९० सम्झौता नगरेका देखिन्छ भने २४ जनाले पहिलो किस्ता लिएका छैनन् । 

कतिपय भूकम्पपीडितले पहिलो किस्ताबाापत ५० हजार रुपैयाँ लिएर पनि घरको जग हाल्न नसकि घरखर्चमै सकाएका छन् । यस्तो समस्या भएका परिवार भने अधिकांश भूमिहीन र निम्न वर्गका छन् । उनीहरूसँग सामान खरिद गरि ल्याउन सक्ने पैसा थिएन । 

५० हजार रुपैयाँले सबै सामान आउने अवस्था नहुँदा पहिलो किस्ताबाापत पैसा लिएका कतिपय परिवारले वर्षाैँ बितिसक्दा पनि अहिलेसम्म घर उभ्याउन सकेका छैनन् । 

अन्तिम अपडेट: भदौ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया