बालबालिकामाथि अनलाइनमार्फत हुने यौन शोषणमा वृद्धि : अध्ययन

 माघ २३, २०७७ शुक्रबार १३:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पछिल्लो समय बालबालिकामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ । 

बालअधिकार र बाल संरक्षणसम्बन्धी काम गर्दै आएको बालअधिकारवादी संस्था सिविन नेपालले गरेको अध्ययनअनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो । 

सिविन नेपालले सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समूहका १७१४ जना बालबालिका तथा किशोरकिशोरीमा गरिएको अध्ययनबाट बालबालिमामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्नीमा तुलाधरले बताउनुभयो । 

कोभिड-१९ का कारण लकडाउन भएपछि बालबालिकाको इन्टरनेटको प्रयोग गर्ने समय बढेको र जोखिममा पर्ने सम्भावना पनि उत्तिकै बढेको उहाँको भनाइ छ । बालबालिकाहरुले अनलाइनमार्फत नचिनेको मान्छेसँग सम्बन्ध गाँस्ने, यौन शोषणको सिकारमा पर्ने र यसका कारण शिक्षा र मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको उहाँले बताउनुभयो ।

अनलाइनमार्फत हुने यौन शोषणमा बालिकाको साथै बालकहरु पनि पर्ने गरेको अध्ययनले देखाएको छ । शोषणमा पर्दा सहयोग माग्ने विषयमा बालबालिका अनविज्ञ रहेको पनि पाइएको छ । बालबालिकालाई अनलाइनमार्फत् हुने हिंसा पनि अपराध नै हो भन्ने बुझाउन सक्नुपर्ने र बालबालिकाहरुलाई यसबारे जनचेतना जगाउन सरोकारवाला सबै सचेत हुनुपर्ने कार्यकारी निर्देशक तुलाधरले बताउनुभयो । अनलाइनमार्फत हुने यौन शोषणबारे शिक्षा दिन विद्यालयको पाठ्यक्रममै राख्नु जरुरी रहेको उहाँको भनाइ छ ।

सिविन नेपालले अध्ययनका क्रममा सरोकारवालाहरुसँग प्रत्यक्ष रुपमा भेटेर, अन्तर्वार्ता गरेर, समूह छलफल गरेर तथ्य निकालेको जनाएको छ । शुक्रवार सिविनले निकालेको तथ्य सार्वजनिक गरिएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया