प्रचण्डलाई प्रधानमन्त्रीको व्यङ्ग्य : शाकाहरी आन्दोलन हुँदैन भनेकाे के हाे ? चिकेन चिल्ली खान्छु भनेको हो ?

नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन सक्दैन

 माघ २३, २०७७ शुक्रबार १६:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अशान्ति र हिंसाको भुमरीमा जान नदिने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार वाग्मती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गको नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताउनुभएको हो ।

उहाँले प्रचण्ड–माधव समूहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताउनुभयो । तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरूले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहलाई व्यङ्ग्य गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरू भन्नुहुन्छ, अब शाकाहारी आन्दोलन हुँदैन भनेर । शाकाहारी आन्दोलन हुँदैन भनेको के हो ? चिकेन चिल्ली खान्छु भन्या हो ? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो ? म उहाँहरूलाई भन्दिन चाहन्छु कि नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । नेपाल शान्तिपूर्ण । अब नेपाल अशान्ति र हिंसाको भुमरीमा जान सक्तैन । शान्तिपूर्ण नेपाल रहन्छ ।’ 

प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गर्नुभयो । नागरिकले सरकारलाई पाँच वर्ष काम गर्ने म्याण्डेड दिएको भए पनि प्रचण्ड–माधव समूहले व्यवधान गरेकाले प्रतिनिधि सभा विघटन गरि ताजा जनादेशमा गएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘काम गर्न दिइएन बीचमा । मैले धेरै पल्ट भनेँ ।  यो सरकार पाँच वर्षका लागि हो, पाँच वर्ष चलाऔँ । तर उहाँहरू पार्टी फोड्नुपर्छ , केपी ओली हट्नुपर्छ अनि जोडजाम गरेर विभिन्नसँग मोलतोल गरेर जसरी पनि केपी ओलीलाई हटाउनुपर्छ । देशलाई भड्खालोमा हाल्नुपर्छ । त्यसलाई उहाँहरू स्थिरता र स्थायित्व भन्नुहुन्छ । के त्यो स्थायीत्व हो र ? उहाँहरू नागरिकलाई धोका दिँदै हुनुहुन्छ । आफ्नो स्वार्थ र व्यक्तिगत अहङ्कार, महत्त्वकाङ्क्षाका लागि सब काम गर्दै हुनुहुन्छ । जब उहाँहरूले काम गर्न दिनुभएन, लोकतन्त्रलाई ठिक ढङ्गले चल्न दिनुभएन, संसद्लाई ठिक ढङ्गले चल्न दिनुभएन, संसद्लाई केही पनि काम गर्न नसक्ने अवस्थामा पुर्‍याउनुभयो । काम गर्नै नदिने, काम गर्ने नपाउने अवस्था आएपछि नेपाली नागरिकका माझ ताजा जनादेशमा जानुपर्‍यो ।’

प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद् विघटन गर्न सक्ने भन्दै संसद् विघटन गर्ने निर्णयको बचाउ गर्नुभयो । बेलायतको उदाहरण दिँदै उहाँले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद् विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गर्नुभयो । संसद् विघटन गर्न सक्ने प्रधानमन्त्रीमा निहित अधिकारमा प्रचण्ड–माधव समूहले बलजफती बहस चलाएर प्रतिगमन भनेको टिप्पणी पनि उहाँले गर्नुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया