विप्लव, वैद्य, कट्टेल र आहुतीकाे संयुक्त माेर्चा : वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य

 माघ २९, २०७७ बिहिबार १९:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभा विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको छ । बिहीवार चार कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चा घोषणा कार्यक्रममा बोल्दै महासचिव वैद्यले प्रतिनिधि सभा विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको हो ।

सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भए पनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाँको भनाइ छ । उहाँले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाइदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरू लागेको बताउनुभयो ।

बिहीवार मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव समूह, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले जानकारी दिनुभयो ।

मोर्चाले क्रान्तिकारी कम्युनिस्टहरूलाई गोलबद्ध गरी पार्टी एकता गरेर राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र जनजीविकाको समस्या समाधान गर्न निरन्तर सङ्घर्ष गर्ने पनि उहाँको भनाइ छ ।

रणनैतिक संयुक्त मोर्चाले पहिलो चरणको आन्दोलन पनि घोषणा गरेको छ । घोषित कार्यक्रमअनुसार शुक्रवार माघ २९ गते काठमाण्डौमा मोर्चाको घोषणा सभा, फागुन ६ गते बुटवलमा, फागुन १४ गते धनगढीमा, फागुन १८ गते इटहरीमा जनसभा सभा गर्ने भनिएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया