राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
नौलो ठाउँ । नौला मान्छे । नौलो परिवेश । मेरा लागि सबै अपरिचित ।
सहरको भीडभाड । सबै आ-आफ्नै सुरमा आ-आफ्नै गन्तव्यमा लम्किरहेका छन् ।
कोलाहल, भीडभाड नरुचाउने सानैदेखि बानी आफ्नो ।
जतिसक्दो यो अपरिचित भीडभाड छिचोली शान्त, एकान्त वातावरणमा पुग्ने मनभरिको ‘चाह’ मनमा ।
त्यसो त त्यसदिनदेखि म आफूलाई जतिसक्दो भीडभाडबाटै टाढै राख्न जाती मान्थे । पहिले सानोसानो कुरामा खुशी भइरहने । ओठमा हाँसो सजाइरहने म ।
त्यसैदिनदेखि म भित्रैदेखि खुशी भएको, मुस्कुराएको पल स्वयम् म आफैंलाई थाहा छैन ।
त्यहीबेलादेखि म आफूलाई भीडभाड, रमाइलोबाट टाढै राख्न चाहन्थे ।
तर कसरी आज म,
यो नौलो ठाउँको भीडभाडमा आइरहेछु, किन ?
कुन्नी !
आफ्नै मनले प्रश्न गरिरहेको छ ।
प्रश्नको जवाफ कुन्नी ! भन्दै टारेको छ, आफ्नै मनले ।
मनमा कुरा खेल्दै छ । भीडभाडबाट टाढा रहनका लागि पाइला छिटोछिटो लम्किरहेका छन् ।
बाटो काट्दै गर्दा साँझपख चलेका बतासले उसको याद मनभरि ल्याएको छ ।
भुल्न त खाजेकै हो नि । जसै गरे पनि मनले भुल्नै चाहने, भुल्नै सकेन उनलाई ।
साथमा छैन उ । तर सासमा छे । मनमुटुभरि उही नै उही धड्केकी छे ।
बाटो काट्दै गर्दा उ नै आँखाभरि छाएकी छे । उससँगै हात समाउँदै सँगै पाइला सरिरहेको आभास गरेको छ, मनले हरेकपल ।
चलिरहेका छन् पाइला । उसको यादमा डुब्दै हिँड्नुको मज्जा पनि बेग्लै । बाटो काटेको पनि पत्तै नहुने ।
कल्पना मात्रै पनि यत्ति मिठो हुने है ! मन प्रशन्न हुन्थ्यो । ओठभरि मुस्कान छाउँथ्यो ।
...............
गल्लीको बाटो हुँदै सरासर हिँडे । बिस्तारैबिस्तारै त्यो भीडभाडबाट अलग्गिएँ ।
गर्मी समय । पैदल यात्रा । शरीर लखतरान भइसकेको थियो ।
गल्ली पार गरेपछि सहर नजिकै रहेको शान्त ठाउँ देखेँ । सहरको छेउबाट बगिरहेको थियो, नदी ।
नदी आडैमा थियो, एकजोडी वरपीपल । नदीको कलकल सङ्गीत र शिरशिर चलेको बतासको उन्मादमा नाचिरहेका थिए, वरपीपलका पातहरु ।
एकैछिन भए पनि चौतारीमा बस्ने रहर जाग्यो, मनमा । दिन ढल्कँदैथ्यो । घाम डुब्नै लागेको थियो, क्षितिजमा ।
पाइलाहरु चौतारी तिर मोडिए । केही बेरमा चौतारी छेउ पुगे । टुसुक्क बसेँ, चौतारी फेदमा ।
शरीर चौतारी फेदमा । तर नजर आडैमा बगेको कलकल नदीमा ।
‘यही गंगाको पानीझैँ सफा मन, बानी व्यवहारकी थिइन् उनी पनि । बगेको खोलीको पानीझैँ भइन् उनी पनि । बगेको खोला फर्कँदैन भन्थे । उसैगरी उनी पनि गएदेखि या भनौँ पराइ भएदेखि कहिल्यै आइनन् । मैले पर्खी बसेको चौतारीमा,’ बगेको नदीको पानी र उनीबीचमा समानता केलाउँदै भन्यो मनले ।
‘सास छउञ्जेल आश रहन्छ’ भन्थे भन्नेहरुले । ‘त्यसैले एकदिन कहीँकतै अवश्य भेट हुनेछ, जिन्दगीको दोबाटोमा छोडी जाने उनीसँग’ भन्दै चित्त बुझाउँथे म ।
अचम्मको बानी । जहाँ जान्छु । जहाँ हुन्छु । मनैभरि उसको याद छाउँथ्यो । उनकै यादमा बाँच्ने जो बानी भइसकेको थ्यो ।
चौतारीमा बस्दै गर्दा बेस्सरी मनैले सम्झे उनलाई । आखिर मैले उनलाई भुलेको पल नै कहाँ छ र !
..........................
नदी आफ्नै सुरमा बग्दै थियाे। चराचुरुङ्गी चिरबिर गर्दै आफ्नै गुँडमा फर्कँदै थिए । म बसिरहेको ठाउँबाट उठेँ । चौतारीबाट पाइला चाल्न के खोजेको थिए । टक्क पाइला रोकिए । चल्न सकेनन् पाइला ।
आँखा गएर टक्क अडिए उनैमा । मनमा ‘डरको ग्राफ’ ह्वात्तै बढ्यो । मन बेचैन भयो ।
ठीक अगाडिबाट एकनासले नियालिरहेकी थिइन् । मुस्कुराइरहेकी थिइन्, उनी ।
उनी अर्थात् पल्लवी ।
पत्याउनै सकिरहेको छैन । वर्षौंपछि उनलाई आँखै अगाडि देख्दैछु । त्यो पनि यो नौलो ठाउँमा ।
हरियो कुर्ता सलवार । सिउँदोमा सिन्दुर । ओठमा ‘पर्पल कलर’को लिपस्टिक लगाएकी । पहिले हेरी केही मोटाएकी । दुवै हातले सेतो रङ्गको सानो कुकुर च्यापेकी ।
पहिले त देख्नेबित्तिक्कै ठम्याउन गाह्रो भयो, मलाई । उसको ओठमा खुलिरहेको मधुर मुस्कानले गर्दा उनलाई क्षणभरमै चिन्न सजिलो बनायो ।
वर्षाैँपछि उनलाई आफ्नै अगाडि देखिरहेको थिएँ ।
यसमा खुशी पनि थिएँ ।
आखिर पक्कै एकदिन कसो भेट नहोला र ? भनी उनकै यादमा तड्पी बाँचेको म । तर यति छिट्टै भेट होला भन्ने सोचेको थिइनँ मैले ।
हुन त उनी यो जीवनबाट टाढा जालिन् भनेर पनि कहाँ सोचेको थिएँ र मैले ।
कसैले भनेको सुनेको थिएँ, ‘जीवन भनेकै यस्तै त हो नि । सोचेको कम नसोचेको ज्यादा भइदिँने । बडो अचम्मको छ, यो जिन्दगीको खेल पनि ।’
उनी हेरिरहेकी थिइन् । उही पहिलेकोझैँ मधुर मुस्कानका साथ ।
मैले पनि हेरिरहे । निकै बेर नजर जुधिरहे ।
न उनी केही बोलिन् न त म नै बोले ।
आँखा एक-अर्कालाई हेर्नमै व्यस्त थिएँ । त्यसैले पनि ओठले केही बोलेनन् ।
रक्की ! रिसमा पनि माया मिसाउँदै भुइँमा खेल्न खोजिरहेको कुकुरलाई दुवै हातले च्याप्प समाउँदै बोलिन् उनी ।
सेतो रंगको त्यो सानो कुकुरको नाम ‘रक्की’ रहिछ ।
उनलाई हेर्न सकेँ । तर बोल्न सकेनन् यी ओठहरुले ।
पाइला के चाल्न खोज्दै थिए । बोलिन् ।
‘पल’
‘आराम छौँ ।’
‘ज्यानलाई त सञ्चै छ । तर मन बिरामी छ ।’
‘अनि के गर्दैछौँ आजकाल ?’
‘जीवनभर सम्झने, यादमा तड्पने, रुने काम सुम्पेर गा’की थियाै । बस् तिमीले नै अह्राएर गएको काम गरिरहेको छु ।’
‘सधैँ त्यसो भनेर कहाँ हुन्छ र ! जीवन लामो छ ।'
भइरहेकै छ । जसोतसो च्यातिएको मन टालेर बाँचेकै छु ।
अब तिमीले पनि आफ्नो भविष्यबारे सोच्नुपर्छ । सधैँ मेरो यादमा तड्पेर बसेर हुन्छ त ?
उनी सम्झाउँदै थिइन् ।
मसँग बोल्नका लागि शब्द नै थिएनन् यसपल ।
अँ साँच्ची तिमी मेरा खुशीको लागि जे पनि गर्न सक्छौ होइन ?
‘तिम्रै सुख-खुशीको लागि त हो नि म तिमीबाट हाँसीखुशी टाढा भएको । आफ्नै मुटु खोसिँदा पनि आँखाको आँशु आँखैमा राखि बसेको’ मनले भन्दै थिइन् ।
मुन्टो हल्लाउँदै भने,
‘उम्’
‘मेरो खुशीको लागि पनि तिमीले अब बिहे गर्नुपर्छ । नयाँ जिन्दगी सुरुवात गर्नुपर्छ । जिन्दगी लामो छ, पल । जीवन काट्न कसैको साथ चाहिन्छ । आखिर मलाई भुल्ने उपाय पनि यही हो, तिमी बिहे गर ।’
तिम्रो कुरा सकिन नपाउँदै बोले, ‘हिजो तिम्रो साथ पाउने मिठो आशामा बाँचे । सँगै साथमा बाँच्ने भाग्य मिलेन यो खोटी कर्मलाई । र पनि ठीकै छ । तिम्रो यादमा बाँचेको छु । यसैमा खुशी छु म । तिमीलाई पाउन नसक्ने अभागी पनि मै हुँ । तिम्रो यादमै तड्पीतड्पी बाँच्न पाउने भाग्यमानी पनि मै हुँ । कोही कसैको साथमा रम्नुभन्दा तिम्रै यादमा तड्पी बाँच्न मिठो लाग्छ । यसैमा खुशी मिल्छ, मलाई ।’
बाँकी जीवन कसरी बिताउँछौँ त ?
छोडी जानेलाई पनि छोडिएकोलाई सम्झी चिन्ता गर्ने फुर्सद हुने रहेछ है !
टाढा हुनुको पनि केही कारण नबताइ टाढा भएकी तिमीले गरेको यो प्रश्नले तर्सिएँ ।
म प्रतिको चिन्ता मिसिएको तिम्रो जिज्ञासा मेटाउँदै भने, के कारणले चोखो माया गर्दागर्दै केही नभनी टाढा भयाै । त्यसको जवाफ चाहिँदैन मलाई । तिमीले आफ्नो संसार माया नै माया, सुख-खुशीले सजाउनु । हाँसी-खुशीसाथ जीवन बिताउनु । मेरो कामना छ ।
धेरैपछि भेट भएकी तिमीलाई जतिसक्दो थोरै समयको भेटमा धेरै कुरा भन्नु थियाे । र त सासै नफेरि तिमी बिनाको जीवन कसरी बाँच्दै छु र बाँँच्ने छु भन्नेबारे तिमीलाई सुनाउन चाहेँ ।
‘सबैको भागमा माया, सुख-खुशी हुँदो रै’नछ पल्लवी । मैले औधी माया, विश्वास गरेको, मनैलै चाहेको तिमीसँग जीवन जिउने सपना साँचेको थिएँ। सायद त्यो बेला तिमीले पनि यसै सोच्यौ होली । ‘देखेको हैन, लेखेको पाइन्छ’ भनेझैँ हामी एक-अर्काको भएसँगै जीवन जिउन पाएनौँ ।
जुन दिन तिमी टाढा भयौ । त्यही दिनदेखि मेरा सारा सपना टुङ्गिए । फुटिगए । जसोतसो आफूलाई सम्हालेर बाँच्ने प्रयास गरेँ । पाउनु मात्रै माया होइन, गुमाउनु पनि माया हो । चोखो मायामा ‘त्याग’ भन्ने कुरा पनि हुन्छ । तिम्रो खुशीको लागि हाँसीखुशी आँशु स्वीकारी बाँच्न सकेँ । तिम्रो यादमा खस्ने आँशुकै सहारामा बाँच्दै छु ।
अनि टाढैबाट चाेखो मनले सदा माया गरिरहेको हुन्छ । सम्झिरहेको हुन्छ ।
बाँकी रह्यो । बाँकी जीवनको । अब यो बाँकी जीवन सत्कर्ममा हिँडी, बेसहारा, असहाय, दिन दुःखी गरिब सहारा बन्ने कोशिस गर्नेछु । लगन, परिश्रमले सकेको देश, समाजको सेवा गर्नेछु । यही सोच बनाएर हिँडेको छु।
साँच्चै, आफूले सकेको सहयोग गरी कसैको ओठमा मुस्कान देख्दा मलाई खुशी मिल्छ । त्यसपल तिमी पनि खुशी भएको महशुस गर्छ यो मन ।
मेरोसँगै तिम्रो खुशीको लागि यसैगरी यो जीवन बिताउने छु, पल्लवी ।
एकोहोरो म मात्रै बोलेकी क्या हो है पल्लवी ?
नाइँ कति पछि तिम्रो बोली सुन्न पाउँदै छु ।
साँच्चै असल विचारको छौ तिमी । सधैँ यस्तै सफा मनको भइराख है तिमी ।
तिमी बसेको मन हो नि !
हाँस्यौ तिमी ।
मलाई रुवाएर जाने तिमी हौ । र पनि तिम्रो ओठमा खुलेको मुस्कानले वर्षौदेखिको दुःख-पीडा भुलाउँदै थियाे ।
अनि सोधेँ,
अनि खुशी त छौ नि तिमी आफ्नो जीवनमा ।
उम् एकदम खुशी छु म ।
तिमी बोल्यौ
म झनै खुशी भए ।
चोखो माया गर्नेले आफूले माया गरेको मान्छेको सदा सुख-खुशी, भलो चिताउँछ । कुनै दिन तिमीले भनेकी थियौ ।
यही सम्झेर झनै खुशी भएँ ।
आफ्नो ख्याल गर है ?
तिमी बोल्यौ,
यसो भन्दैगर्दा आँखामा साउने झरी बर्सिसकेका छन् । रक्कीलाई भुइँमा राख्दै ती हातले यी आँशु पुछ्न खोज्दै थियाै । बिचैमा रोकेँ । नाइँ ।
झर्न देउ यी आँशुलाई । दुख्न देउ यो मनलाई । आज त यी आँखाको आँशु तिमीले पुछौली । अरुबेला कस्ले पुच्छ ? अनि आज त तिमी आफ्नो ख्याल राख भनौली । भोलिदेखि यस्तै माया भावका साथ मलाई यसो कसले भन्छ ?
म बोले ।
तिमी पनि नरमाइलो मान्यौ ।
एकैछिनमा तिमी कता हरायौ, हरायौँ। नरमाइलो लाग्यो । अत्यास लाग्यो । छटपटिदैँ एकोहोरो तिमीलाई बोलाइरहेँ ‘पल्लवी.... पल्लवी .....पल्लवी.....!’
मोबाइलमा भाले कराउँछ ।
झसङ्ग हुन्छु । सपना पो रै’छ । घडीले बिहानको ६ बजाइसकेको हुन्छ ।
आँखा मिच्दै बिछ्यौनाबाट उठ्न खोज्छु । तर सक्दिँन । सिरानबाट पल्लवीको तस्बिर निकाली ओठले चुम्दै मायाले भन्छु, ‘पल्लु, सपनीमा पनि सताउन छाडिनौँ है ?’
.........................
पल्लवी, विपनीमा त सायद कहिल्यै हाम्रो भेट नहोला ।
तर वर्षौैपछि सपनीमा तिमीलाई देख्न पाउँदा मन आफैँमा गद्गद् छ । निको लाग्छ, मिठो लाग्छ, तिमीलाई एकैपल सपनीमा देख्न पाउँदा पनि ।
पल्लवी टाढा छौ । पराइ भएकी छौ । तर पल्लवी तिमीलाई मैले आजसम्म मनबाट हटाएको छैन । बिर्सन सक्ने छैन, कहिल्यै ।
पल्लवी !
छोडी गए नि, भुलेर गए पनि तिमीले मलाई, मखमली माया सदा तिमीलाई !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।