पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकाको सित्तड गाउँमा तीन वर्षअघि बिजुली पुग्यो । गाउँ झलमल्ल भयो । बिजुलीले गाउँ उज्यालो भए पनि यहाँका बासिन्दाको मुहारमा भने अझै उज्यालो छाएको छैन । महिना दिन बिजुली बाल्दा ९० रुपैयाँ बिल उठ्छ । तर त्यो ९० रुपैयाँ बिल तिर्न एक हजारदेखि १२ सय रुपैयाँसम्म खर्च गरेर स्थानीयहरुलाई सदरमुकाम नै धाउनुपर्ने बाध्यता छ ।
दार्चुला जाने मुख्य सडकबाट दुई घण्टा लाग्छ गाडीमा सित्तड गाउँ जान । यो गाउँमा जाने सार्वजनिक गाडी छैन । भर्खरै खनेको बाटो छ । यो बाटोमा रिजर्भका गाडीहरु फाट्टफुट्ट चल्छन् । गाउँबाट खोचलेक या सिल्लेगाडा बजारसम्म पुग्न गाडीवालाले मागेजति रकम दिनुपर्छ ।
‘रुट परमिट पनि नभएको बाटोमा हामीले जोखिम मोलेर गाडी चलाउनुपर्छ भन्छन् गुरुजीले,’ स्थानीय सुशीला मडै भन्नुहुन्छ, ‘९० रुपैयाँ बिजुलीको बिल तिर्न हामी जाँदा मात्र ४ सय रुपैयाँ भाडा तिरेर जान्छौं ।’
गाउँमा प्रायः को घरको टिभी छैन । धेरैजसोले बत्ति मात्र बाल्छन् । बिजुली धेरै उठ्ने कुनै उपकरण पनि चलाउँदैनन् । ‘एउटा बत्ति मात्र बालेमा पनि महिनाको ९० रुपैयाँ अनिवार्य बुझाउनुपर्छ, त्यही ९० रुपैयाँ बुझाउनका लागि भए पनि हामी सदरमुकाम नै धाउनुपर्छ,’ सुशिला भन्नुहुन्छ ।
बिजुलीको बिलभन्दा बिजुली तिर्नको लागि ओहोरदोहोर गर्दा खर्च बढी हुन्छ यहाँका बासिन्दाको ।
गाउँबाट सदरमुकामसम्म पुग्न र फर्कन झण्डै ९ सय रुपैयाँ त गाडीभाडा नै लाग्छ । कहिलेकाहीँ गाउँबाट सदरमुकाम पुग्न गाडीको समस्या हुन्छ । भनेको बेला गाडी पाइएन भने बिल तिरेर एक दिनमै फर्कन सकिंदैन ।
समयमा काम सकिएन भने बिजुलीको बिल तिर्न गएको मानिस सदरमुकाममै होटलमा समेत बस्नुपर्छ । यी सबै खर्च जोड्दा ९० रुपैयाँको बिजुलीको बिल तिर्न सामान्यतया पनि एक हजारदेखि १२ सय रुपैयाँसम्म खर्च हुन्छ ।
‘होटल पनि सामान्य र सस्तो पाए त हो नत्र त महंगोमा बस्नु प¥यो भने त खर्चको के हिसाब र,’ सुशीला सुनाउनुहुन्छ, ‘गाउँमा बिजुली आउँदा सुविस्ता त भयो तर हामीलाई महंगो परेको छ ।’
उठेको बिजुलीको बिलभन्दा बिल तिर्न धाउँदा लाग्ने खर्चले हैरान भए पनि टुकीमा रात कटाउनुभन्दा झिलीमिली उज्यालोमै बस्न पाइयो भनेर चित्त बुझाउँछन् स्थानीय ।
‘पहिले पहिले हाम्रा पुर्खाले अँध्यारोमै रात बिताउनु प¥यो अहिले उज्यालो आयो, हामी त्यही सम्झेर पनि चित्त बुझाउँछौं,’ उहाँ भन्नुहुन्छ ।
दोगडाकेदारकै सिल्लेगाडामा व्यवसाय गर्नुहुन्छ दशरथ चन्द । सिल्लेगाडा सित्तडको तुलनामा ठूलो बजार हो । यहाँ गाडी र मानिसको आवतजावत बाक्लो हुन्छ । दार्चुला जाने मुख्य सडक भएकाले पनि व्यापार व्यवसाय पनि चल्छ ।
बिजुलीले कामकाज गर्न सहज पनि बनाएको छ । तर यहाँको पनि समस्या उस्तै छ । यहाँबाट पनि स्थानीयहरु बिजुलीको बिल तिर्न सदरमुकाम नै धाउनु पर्छ । दशरथजस्ता कामकाजी मान्छेलाई त व्यवसाय नै बन्द गरेर जानुपर्छ सदरमुकाम ।
‘अरुलाई भन्दा पनि त्यति विश्वास लाग्दैन, कतिले तिरिदिन्छु भन्छन्, तिरी दिंदैनन्, जरिवानामा परिन्छ, ’दशरथ भन्नुहुन्छ, ‘आफू नगइ त सुखै छैन ।’
कहिलेकाहीँ मिटर रिड गर्ने मानिस नै ढिलो आइदिन्छन् । कहिले आफ्नो कामले नै बिल तिर्न समयमा सदरमुकाम जान पाइदैन । यसो हुँदा धेरै पटक जरिवानामा पर्नुभएको छ उहाँ ।
‘अब पसल नै बन्द गरेर जानुपर्छ, एकदुई दिन ढिला हुँदा पनि कति जरिवाना लिने हो भन्ने चिन्ता हुन्छ’ गुनासो गर्दै दशरथ भन्नुहुन्छ, ‘एक त कर्मचारीहरु समयमा नआइदिंदा फाइनमा पर्ने चान्स भइसकेको हुन्छ, गरिबलाई विकासले पनि सुख दिने रहेनछ हजुर ।’
गाउँमा बिजुली पुगे पनि बिजुलीको बिल तिर्न सदरमुकाम नै धाउनु पर्दा दोगडाकेदारकै उत्तम सिंह बिष्टलाई पनि बेलाबेलामा बत्ति नै नबालौं कि झैं भन्ने झोंक चल्छ । एउटा बत्ति मात्र बाल्नकै लागि महिनामा एक हजार रुपैयाँ थप बुझाउनु पर्दा घरीघरी त सोलार नै ठिक झैं लाग्छ उहाँलाई ।
उहाँको घरमा एक महिनामा १० देखि १५ युनिट उठ्छ । बिल तिर्न सदरमुकाम गोठालापानी जाँदा आउँदा थप एक हजार रुपैयाँ मासिक रुपमा छुट्याउनुपर्दा घाटा भएको छ भन्नुहुन्छ उत्तम ।
अझ कुनै उपकरण बिग्रियो भने झन समस्या हुन्छ । खबर गर्दा बनाइदिने मानिस समयमा पुग्दैनन् । कतिदिन अँध्यारोमै बिताउनुपर्छ ।
‘एउटा सानो फ्युज बिग्रियो भने पनि यहाँ बनाउन साह्रै समस्या हुन्छ, देख्दा बिजुली आएको छ तर हामीलाई थप समस्या भएको छ,’ उहाँ भन्नुहुन्छ ।
दोगडाकेदारकै राजेन्द्र पाण्डेको गाउँमा भने तीन महिनामा मिटर रिड गर्न जान्छन् विद्युत प्राधिकरणका कर्मचारी । तीन महिनाको एकैपटक तिर्दा २ सय ४० बिल उठ्छ । धेरै होस् या थोरै उठेको रकम तिर्न सदरमुकाम नै धाउनुपर्छ ।
उहाँको गाउँबाट सदरमुकाम पुग्दा आधा दिन जान्छ । सधैं सदरमुकाम पुग्नासाथ बिल तिर्न सकिन्छ भन्ने पनि हुँदैन । केही अफिस बन्द हुने दिन हुन्छ । यस्तो भयो भने त झन त्यतै बस्नुपर्छ ।
‘बत्ति बाल्न पाउँदा त सहज छ नि तर बिल तिर्न समस्या छ, यसको समाधान कस्ले गरिदेला,’ राजेन्द्र प्रश्न गर्नुहुन्छ ।
खोचलेक बजारमा छ पालिकाको कार्यालय । खोचलेखसम्म गाउँपालिकाका स्थानीयलाई आइपुग्न गोठालापानी पुग्नुभन्दा निकै सहज छ । त्यहाँबाट सदरमुकाम पुग्ने समयमा बिल तिरेर गाउँ फर्कन सहज हुन्छ धेरैजसो स्थानीयलाई । त्यसैले पनि गाउँबाट सम्भव नभए पनि पालिका कार्यालयबाट बिल तिर्न पाए पनि हुन्थ्यो भन्ने लागेको छ धेरै स्थानीयलाई ।
पालिकामा आफ्नो समस्या बेलाबेलामा राख्ने गरे पनि सुनुवाई नभएको गुनासो गर्नुहुन्छ स्थानीय दशरथ चन्द ।
‘पालिकामा कत्ति भन्नु, भन्दा भन्दा हामी त थाकेर चुप लागेका हौं, यहाँ हामीले भनेर हुनेवाला केही पनि छैन,’ दशरथ आक्रोश पोख्नुहुन्छ ।
बिजुलीको बिल तिर्न प्रविधिले हिजोआज सजिलो बनाइदिएको छ । मोबाइलबाटै बिल तिर्न सकिन्छ । तर दोगडाकेदार गाउँपालिकाको विभिन्न ठाउँमा अहिले पनि मोवाइलामा नेटवर्क आउँदैन । फोन गर्नकै लागि घण्टौं हिँडेर डाँडो चढ्छन् स्थानीय ।
नेटवर्ककै समस्याले गाउँका धेरै मानिस स्मार्ट फोन बोक्दैनन् पनि । फोन नै हुनेहरु पनि अनलाइनमार्फत नै बिल तिर्ने यो प्रविधिबारे जान्दैनन् ।
‘हामी त धेरैजसोले हलो भन्न मिल्ने फोन चलाउँछौ, कहाँबाट कसरी तिर्ने हामीलाई थाहा नै हुँदैन,’ सित्तडकी सुशीला भन्नुहुन्छ, ‘ठूलो मोवाइल नै भए पनि गाउँका मानिसलाई कहाँ आउँछ र मोवाइलबाट तिर्न ।’
गाउँमा प्रायः वृद्धवृद्धा र बालबालिका छन् । अनलाइनबाट बिल तिर्नु त परको कुरा उनीहरु बिजुलीको बिल कति उठेको छ भनेर हेर्न पनि थाहा पाउँदैनन् ।
भित्तामा रहेको स्वीच फ्याट पार्दा बल्छ । बलेन भनि पनि उनीहरु किन बलेन जान्दैनन् । गाउँबाट सदरमुकाम जाने मानिस पाए पैसा उनीहरुकै साथमा पठाइदिन्छन् । तिरिदिन आग्रह गर्छन् । धेरैजसो चाहिँ जति खर्च भए पनि सदरमुकाम नै धाएर बिल तिर्छन् ।
स्थानीयको यो समस्या तत्काल समाधान गर्न नसके पनि बिस्तारै यो समस्या समाधान गर्ने गरी काम अघि बढाउने बताउनुहुन्छ विद्युत् प्राधिकरण बैतडीका प्रमुख अनिल कुमार चौधरी ।
‘आजको भोलि यो समस्या समाधान गर्न सजिलो छैन, तत्काल काउन्टर राख्न पनि पूर्वाधार विकासदेखि अनेक काम गर्नुपर्छ,’ प्रमुख चौधरीले भन्नुभयो,‘तत्काललाई ईसेवा लगायतका प्रविधिमार्फत बिल तिरेर आफ्नो यातायात खर्च जोगाउन अनुरोध गर्छु ।’
साथै उहाँले यस्ता प्रविधिको प्रयोग गर्न स्थानीयमा जनचेतना जगाउने पनि बताउनुभयो ।
उहाँका अनुसार विकट गाउँ गाउँमा भने मोबाइल काउण्टरको व्यवस्था गर्ने सन्दर्भमा पनि छलफल भइरहेको छ । तर यसका लागि अनुमति लिनुपर्ने र पैसा सम्बन्धी कुरा भएकाले अझ सचेत हुन पर्ने भएकाले यो सेवाका लागि केही समय लाग्ने छ ।
त्यतिन्जेलका लागि आफ्नो आइडीमार्फत बिजुलीको बिल एडभान्स पेमेन्ट गर्न पनि सकिने हुँदा महिनैपिच्छे सदरमुकाम धाउनुभन्दा एडभान्स पेमेन्ट गर्न पनि प्रमुख चौधरीले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।