त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्रै खुल्ने, ‘चार वटा उडानका लागि मात्रै रातभर कुर्न सक्दैनाैँ’

 फागुन १२, २०७७ बुधबार १६:२४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चैत १५ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने भएको छ । अहिले २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल २८ मार्च अर्थात् चैत १५ गतेदेखि १८ घण्टा मात्रै सञ्चालन हुने विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले विमानस्थल बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुँदै आएको छ । अब बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्रै विमानस्थल सञ्चालन हुनेछ । विमान र यात्रुको सङ्ख्या कम भएको, कोरोनाका कारण आम्दानीमा कमी आएको र सञ्चालन खर्च धेरै रहेकाले विमानस्थल सञ्चालनको अवधि घटाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले उज्यालोलाई जानकारी दिनुभयो ।

दिउँसो विमानस्थल खाली हुने र चार वटा एअरलाइन्सको उडानका लागि बिहान तीन बजेसम्म विमानस्थल खोल्नुपर्ने अवस्थाको अन्त्य गरिएको उहाँले बताउनुभयो । २८ मार्चदेखि गृष्मकालीन उडान तालिका कार्यान्वयनमा आएसँगै विमानस्थल १८ घण्टा मात्रै सञ्चालन हुने तिवारीको भनाइ छ ।

नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरी चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् । अहिले कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा तीन दिन राति १२ बजेपछि उडान गर्दै आएका छन् । नेपाल एअरलाइन्सले हप्तामा तीन दिन राति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ । कतार र एअर अरेबियाको उडान भने राति सवा २ बजे हुँदै आएको छ ।

तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको पालामा २०७५ सालको जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुँदै आएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया