‘नेकपा फुटेकै छैन, कांग्रेसले के आधारमा सरकार गठनको कुरा गर्ने ?’

 फागुन १३, २०७७ बिहिबार १८:४५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको टुङ्गो नलागेसम्म नयाँ सरकारको विषयमा कुनै निर्णय नगर्ने भएको छ । बिहीवार बसेको पदाधिकारीको बैठकले अहिले नयाँ सरकारको विषयमा कांग्रेसले कुनै निर्णय र अग्रसरता नलिने निर्णय गरेको कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

सर्वोच्चले संसद् पुनर्स्थापनकाे फैसला गरे पनि अहिलेसम्म नेकपा कानुनी रूपमा एक रहेको र सरकारसँग दुई तिहाइ मत रहेकाले कांग्रेसले अन्य विषयमा सोच्न उपयुक्त नहुने पदाधिकारी बैठकले निर्णय गरेको छ ।

‘दुई तिहाइ बहुमत नेकपासँगै छ, अहिलेसम्म उनीहरू फुटेका छैनन्, कांग्रेसले के आधारमा सरकार गठनको छलफल गर्ने ?’, एक पदाधिकारीको भनाइ उल्लेख गर्दै सचिव पौडेलले भन्नुभयो ।

सहकार्यका लागि बुधवार प्रचण्ड र माधव नेपालले सभापति देउवालाई भेटेको विषयमा पनि बैठकमा कुरा भएको थियो । जवाफमा देउवाले प्रचण्ड र नेपालसँग कुरा गरेको तर अहिले सरकार गठनमा सहभागी हुने विषयमा कुनै निर्णय नदिएको बताउनुभएको थियो ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनकाे फैसला गरेसँगै प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि दौडधुपमा छ । कांग्रेसको बिहीवारकाे पदाधिकारी बैठकमा १४ औँ महाधिवेशन र क्रियाशील सदस्यताको टुङ्गो लगाउन बनेको छानबिन समितिले आफ्नो प्रगति पेस गरेको छ ।    

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया