‘मनमा लाग्छ परदेशी श्रीमान् साथैमा भइदिउन्’

 फागुन २०, २०७७ बिहिबार १५:७:१९ | सन्जिता देवकोटा

काठमाण्डौ – आफ्नो श्रीमानसँगै दुःख सुख गर्ने मन कसलाई नहुँदो हो । बिहे भएको दुई महिनामै दुई तीन वर्षका लागि आफ्नो परिवार चटक्कै छाडेर परदेशीन  मन कसको मान्दो हो । तर पनि बाध्यता छ । परदेश नगई बिहान बेलुकाको चुलो बल्दैन । घर व्यवहार चल्दैन । 

परदेश नजाँदा पनि पुग्थ्यो भने बैतडीको डिलाशैनी दौखोलाका धनबहादुर बोहोरा दुई महिनाकी गर्भवती श्रीमती छाडेर परदेश जाने थिएनन् । अञ्जुले पनि श्रीमानको बाटो छेक्नुहुन्थ्यो हाेला । तर बाध्यताले मानिसलाई विवश बनाउँछ । परिस्थिति जस्तो होस् त्यसलाई स्वीकार्न तयार बनाउँछ ।

तीन वर्ष अघि अन्जु र धनबहादुरको प्रेम विवाह भयो । १७ वर्ष मात्रै लाग्नुभएकी अन्जु स्कुल पढ्दै हुनुहुन्थ्यो । धनबहादुर भने कतारबाट बिदामा घर फर्कनुभएको थियो । कतारमा छँदै सामाजिक सञ्जालमार्फत जोडिएका उनीहरूले धनबहादुर नेपाल आएका बेला एक हुने निधो गरे । 

अन्जु स्कुलबाट भागेर धनबहादुरको साथमा बैतडी आइपुग्नुभयो । श्रीमान् साथैमा छँदा त दिनहरू खुसी खुसी अघि बढ्यो । धनबहादुरको बिदा सकियो । बिहे गरेको तीन महिना पनि नलाग्दै छाडेर जानुभयो कतार । 

यता घरमा अन्जु र धनबहादुरकी आमा(अन्जुकी सासू) मात्रै भए । श्रीमान् परदेश गएपछि दिनहरु झन् झन् गाह्रो हुँदै गयो । पेटमा गर्भ । काँधमा बुढी सासू र घर व्यवहारको जिम्मेवारी अन्जु एक्लैले उठाउन पर्‍यो । 

बिहे अघिसम्म स्कुल जाने अन्जुको दैनिकी घाँस दाउरा र घर व्यवहारमा बद्लियो । त्यसमाथि पनि गर्भ अवस्था । श्रीमानको अभाव त हर क्षणमा खड्कियो । 

‘गह्रौँ काम गर्दा, खन्दा, हलो जोतिदिने मानिस नहुँदा श्रीमान् भइदिएको भए हुन्थ्यो जस्तो लाग्ने,’ अन्जु भन्नुहुन्छ,‘मान्छेले भन्छन् विदेशबाट बुढोले कमाएर पठाउँछ यसलाई सजिलो छ, तर अरूले भनेजस्तो छैन ।’ हुन पनि श्रीमानको उपस्थितिभन्दा ठुलो विदेशबाट पठाएको दुईचार हजार कहाँ हुन्छ र । 

कहिले असाध्यै पेट दुख्यो । कहिले खुट्टाहरू बाउँडिएर आँखा झिमिक्क नगर्दै उज्यालो भयो । १७ वर्षको उमेर । पढ्दा पढ्दैको पढाइ छुट्यो । आफै स्कुल पढिरहेकी बालिका अन्जुलाई आमा बन्दै गर्दाको हरेक असहज परिस्थितिको सामना एक्लै  गर्नुपर्‍यो । जसोतसो ९ महिना लाग्यो । तर जब सुत्केरी व्यथाले च्याप्यो तब भने अर्को आपत् आइलाग्यो । 

दार्चुलाको गोकुलेश्वरमा रहेको अस्पताल पुग्न झन्डै दुई घण्टा ठाडो ओरालो झरेपछि मात्रै गाडी पाइन्छ । बिरामी मानिसलाई ओरालो बाटो बोकेर झार्नै समस्या छ । सुत्केरी व्यथाले च्यापेकी अञ्जुलाई अस्पताल ल्याउने कोही भएनन् । दुई दिनसम्म व्यथा सहँदै घरैमा बस्नुभयो । तेस्रो दिन गाउँलेले जसोतसो अस्पताल त पुर्‍याए, तर समय घर्किसकेको थियो । 

‘बच्चा पेटमै बितिसकेको रहेछ, अस्पताल त पुगियो, डाक्टरले मरिसकेको बच्चा निकालिदिए,’ अन्जु मलिन स्वरमा भन्नुहुन्छ,‘श्रीमान् भएको भए त्यस्तो हुने थिएन कि ।’

अञ्जुलाई श्रीमान् साथैमा नभएकै कारण बच्चा गुमाउन पर्‍यो भनेर पछुतो लाग्छ आज पनि । 

‘बेलैमा बिहे नगर्नु पर्ने रहेछ, बिहे गरे पनि श्रीमानलाई विदेश नजाउ भन्न पर्ने रहेछ, तर खान पर्‍यो, लगाउनै पर्‍यो के गर्नु ?’ अन्जु दुःखी हुँदै भन्नुहुन्छ । 

देख्नेले त विदेशमा कमाएको देख्छन् । कमाउन कै लागि आफ्ना र परिवारदेखि टाढा हुँदा गुमाएका कुराको हिसाबकिताब कसले गर्ने ?

अन्जुभन्नुहुन्छ ‘खान मात्र पुग्छ भने आफ्ना मानिस छाडेर परदेश नजानुहोस् ।’

सजिलो छैन घरमा पनि

हुन त आजकाल समय फेरिएको छ । श्रीमान् परदेश लागेपछि श्रीमतीहरू बालबच्चा बोकेर सहरतिर लाग्छन् । सहरमै बालबच्चा पढाउँछन् बढाउँछन् । तर सबैले यो अवसर पाउँदैनन् ।  बैतडीकै दोगडाकेदार गाउँपालिकाको दहकी राजमती विष्टका श्रीमान् भारतमा छन् । भारतको बैङ्लोरमा मजदुरी गर्छन् । अनि शान्ति चाहिँ बालबच्चाको हेरचाह र घर व्यवहार सम्हाल्नुहुन्छ । 

देख्दा उहाँलाई सबैले भन्छन्, ‘श्रीमानले कमाएर पठाएकै छन् तिमीलाई के गाह्रो छ र ।’ तर झिसमिसेमै उठ्नु, घर लिपपोत गर्नु । पाँच बालबच्चाको चित्त बुझाउनु । खेतीपाती र घाँस दाउरा गर्नु । घरमै भए पनि राजमतिलाई परदेशजतिकै छ । 

गाउँमा सुविधाको नाममा केही पनि छैन । न बिजुली, न बाटो । नुनदेखि मोबाइलको रिचार्ज किन्नसमेत कि त रिम कि दार्चुलाको गोकुलेश्वर धाउनुपर्छ । 

‘भारी बोक्नेदेखि खेतबारीको काम आफैं गर्नुपर्छ, घाँस दाउरा गर्न पनि आफैं पुग्नुपर्छ, घर आएपछि अगेनोमा आगो पनि आफैं पुग्नपर्छ,’ राजमति भन्नुहुन्छ,‘घर भए पनि कामका हिसाबले त परदेश सरह छ हामीलाई ।’

कहिले बालबच्चा बिरामी हुन्छन् त कहिले सासु ससुरा । घण्टौँ पैदल हिँडेपछि मात्रै सडक बाटोमा पुगिन्छ । बिरामीलाई अस्पताल लैजान बोक्ने मानिस खोज्न पर्छ । तर गाउँमा जवान पुरुष छैनन् । जेजस्तो परिस्थिति आए पनि महिला नै अघि सर्नुपर्छ । तर बालबच्चा, गाई बस्तु र अरू व्यवहार मिलाउन समय लाग्छ । 

‘यहाँ त कोही बिरामी भयो भने अस्पताल लैजाने मानिस नै नभएर मर्ने अवस्था आउँछ, मेला बालबच्चा बिरामी हुँदा म आफैंले कयौं पटक डोकोमा बोकेर गोकुले पुर्‍याएको छु,’ राजमित सुनाउनुहुन्छ । 

घरको काम पनि गर्नुपर्छ । किलोमा भैँसी भएपछि घाँस पनि काट्नै पर्छ । दाउरा काट्न जङ्गल पुग्नै पर्छ । जति भए पनि खेतीपातीको काम गर्नुपर्छ ।

‘हरेक ठाउँमा आफैं धाउनुपर्दा घरीघरी त मलाई बरु नुनसँग भात खाउँला तर श्रीमानलाई भारत नपठाउ जस्तो लाग्छ नि तर के गर्नु भनेर मात्र हुन्न, भारत नगई त्यही नुन पनि किन्न सकिन्न,’ राजमति आफ्नो बाध्यता सुनाउनुहुन्छ । 

दहकै शान्ति विष्टका श्रीमान् पनि भारतको उत्तराखण्डमा छन् । लेबरी काम गर्छन् । अनि शान्ति चाहिँ तीन बालबच्चाको लालनपालन र घर व्यवहार सम्हाल्नुहुन्छ । शान्तिलाई थाहा छ अर्काको देशमा ठुलो ठुलो भारी बोक्न सजिलो छैन । थाप्लोमा नाम्लो डाम बस्छ । हातमा ठेला उठ्छ । अरुको गाली र बचन सहन पर्छ । 

तर श्रीमान् परदेशमा हुँदा एक्लै घर व्यवहार र बालबच्चाको हेरचाह गर्दा शान्तिले पनि उत्तिकै हैरानी खेप्न परेको छ । 

‘कहिलेकाही त धर धरी रुनुपर्छ, आफूले सक्दै नसक्ने कामहरू अघितिर हुन्छ तर त्यो कसलाई भन्नु, सके पनि नसके पनि, रोएर भए पनि हाँसेर भए पनि आफैं गर्नुपर्छ,’ शान्ति दुखेसो पोख्नुहुन्छ । 

घरको काम पनि दुःख भयो भन्दा गाउँले हाँस्छन् । घरको काम पनि काम होस् भनेर अहिले पनि धेरैले ठान्छन् । घरको काम मात्र गरेर कहाँ पुग्छ र । घरको मूली आफैं बन्न पर्छ । भइपरी आउने हरेक परिस्थितिको सामना एक्लै गर्नुपर्छ ।

दुःख पर्दा होस् या सुख हुँदा, सुखी हुँदा होस् या रुँदा श्रीमान् साथैमा भइदिउन् भन्ने त उहाँलाई पनि लाग्छ । तर मनको चाहनाको अघितिर बाध्यता ठुलो छ । बालबच्चालाई पढाउनु छ, बढाउनु छ उनीहरूको भविष्य बनाउनु छ । 

घरको दुःख टाल्नु छ । भारतमा होस् या खाडीमा बालबच्चा र परिवारको लागि कमाउनु छ । कहिले मामको त कहिले परदेशी आफन्तको अभाव झेल्दै भोलि हुने सुखको आसमा धेरै परदेशीका परिवारलाई यस्तै दुःख झेल्नु परेको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया