मेयरकपका दुवै खेल रोमाञ्चक,  पुलिस र एपीएफ विजयी

 फागुन २२, २०७७ शनिबार १९:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल पुलिस क्लब र एपीएफले काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेटमा विजयी सुरुवात गरेका छन् ।

मूलपानी मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशलाई २ रनले हरायो ।

३८ ओभरमा झारिएको खेलमा पुलिसले ७३ रनको सामान्य लक्ष्य दिएको थियो । तर वाग्मती प्रदेशले २७ ओभर २ बलमा अलआउट हुँदै ७० रन मात्रै बनायो । वाग्मतीका ज्ञानेन्द्र मल्ल र अदिल खानबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका दीपेन्द्रसिंह ऐरीले ४ र ललितनारायण राजवंशीले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुलिस क्लब २५ ओभर २ बलमा जम्मा ७२ रनमा अलआउट भएको थियो । पुलिसलाई न्यून स्कोरमा समेट्न वाग्मतीका आरियो पौडेलले चार र नन्दन यादवले तीन विकेट लिए । आजको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराएको छ ।

आर्मीले दिएको दुई सय ३६ रनको लक्ष्य एपीएफले २ बल बाँकी छँदै ९ विकेट गुमाएर भेटायो । एपीएफका लागि सुमित महर्जनले ६० र वसन्त रेग्मीले ४९ रन बनाए । यसअघि कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा दुई सय ३५ रन बनायो ।

आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ५६ रन बनाए । एपीएफका अविनाश बोहराले तीन तथा अमर राउटेला र भुवन कार्कीले २/२ विकेट लिए । ५ टिमको सहभागिता रहेको मेयर कप २९ गतेसम्म चल्नेछ । काठमाण्डौ महानगरले क्यानसँग मिलेर आयोजना गरेको प्रतियोगितामा आयोजक टिम मेयर ११ सहित त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश सहभागी छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया