सर्वाेच्चकाे फैसला यस्ताे आउला भन्ने अपेक्षा थिएन : प्रचण्ड

 फागुन २३, २०७७ आइतबार १६:२१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया दिनुभएको छ । 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई सर्वोच्चले त्रुटिपूर्ण भन्दै बदर गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्णय अपेक्षा गरेभन्दा फरक आएको बतानुभएको हो । 

उहाँले सर्वोच्चको फैसलालाई गहन अध्ययन गरेर मात्रै अरू टिप्पणी गर्नेसमेत बताउनुभएको छ । प्रचण्डले फैसलाको अध्ययन गरेपछि मात्रै धारणा सार्वजनिक गर्ने बताउनुभयो । सर्वोच्चले आइतवार नेकपा ऋषि कट्टेलको भएको फैसला गरेको छ ।

निर्वाचन आयोगले त्रुटिपूर्ण निर्णय गर्दै ओली–प्रचण्ड समूहको नेकपालाई आधिकारिकता दिएको भन्दै सर्वोच्चले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले निर्वाचन आयोगले बदनियतपूर्ण निर्णय गरेको भन्दै ओली–प्रचण्डले नेतृत्व गरेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो । 

सर्वोच्चको यो निर्णयसँगै दुई समूहमा विभाजन भएको ओली–समूहले नेतृत्व गरेको नेकपा थप सङ्कटमा परेको छ ।   

सर्वोच्च अदालतले फैसलामा साविककै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी, लेलिनवादी र नेकपा माओवादी केन्द्रको नाम नै रहने जनाएको छ । २०७५ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ ।  

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया